व्याकुल माईला गोल्डकप मैदान निर्माण सम्पन्न

डिसी नेपाल
७ जेठ २०७७ १२:३६

काठमाडौं । मानेभञ्ज्याङ गाउँपालिकाको दुधकोसी किनारमा अवस्थित राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको नाममा निर्माण भएको व्याकुल माइला गोल्डकप मैदानको विस्तार र दर्शकदीर्घा निर्माण भएको छ । लगातारको लकडाउन भएपनि गोल्डकप मैदानको निर्माण सम्पन्न भएकोे हो ।

संघीय सांसद यज्ञराज सुनुवारको संसद क्षेत्र विकास कोष अन्तर्गत मैदान र दर्शकदीर्घा निर्माणका लागि सांसद सुनुवारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । गोल्डकपका आयोजक संस्था नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार राईको अग्रसरतामा पहिलो किस्ताको रकम निकासा गरेर काम थाल्दै गर्दा कोरोनाको विश्वव्यापी सङ्क्रमणले सबैलाई आतङ्कित पारी अन्यौलग्रस्त परिस्थिति सिर्जना भएको थियो । तर, त्यस्तो परिस्थितिमा समेत खेल र विकासप्रेमी पौरखी स्थानीय युवाहरू काममा जुटेका थिए ।

लकडाउन सुरु भएको केही दिनपछि गाउँपालिकाका पदाधिकारीहरू समेत आएर काम स्थगित गर्न लगाएका भए पनि सिमेन्ट लगायतका निर्माण समग्री बिग्रने भएकोले केही दिन रोकिएर निर्माण कार्यलाई निरन्तरता दिइएको नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षमान राईले बताउनु भयो । युवा वर्गलाई सम्बोधन गर्ने कार्यक्रम भएकोले निर्माण अभियान सफल बनाउन युवाहरू उत्साहपूर्वक श्रमदानमा जुटेका कारण खेल मैदानलाई रुप दिन सकिएको अध्यक्ष राईको भनाई छ । युवाहरु जुटेका कारण नै लक्ष्यभन्दा बढी काम सम्पन्न भएको उहाँको दावी छ । लगातारको लकडाउनलाले केहि दिन काम प्रभावित भए पनि अहिले गोल्डकप मैदानको रूप फेरिएको छ ।

फुटवल मैदानमा स्थानीय युवाहरूले फुटबल खेल्न र सिक्नका साथै वि.सं. २०६८ सालदेखि बर्षेनी राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको सम्मानमा व्याकुल माइला गोल्डकपको आयोजना गरिँदै आएको छ ।

गोरखापत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *