लकडाउनपछि पौने २ लाख मेट्रिक टन खाद्यान्न र तीन अर्बको औषधि आयात
काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण रोक्न गरेको लकडाउन सुरु भएयता पौने २ लाख मेट्रिक टन खाद्यान्न आयात भएको छ। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार तथ्यांक सार्वजनिक गर्दै आयात/निर्यात व्यापारमा कुनै अवरोध नरहेको र दैनिक उपभोग्य सामानको अभाव नहुने स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार लकडाउन सुरु भएपछि मंलबारसम्ममा एक लाख ८३ हजार ९२६ मेट्रिक टन खाद्यान्न, ६९ हजार २५५ मेट्रिक टन तरकारी, ५१ हजार ८३२ मेट्रिक टन दलहन र २५ हजार ९८१मेट्रिक टन फलफूल आयात भएको छ।
यसैगरी दुई अर्ब ७१ करोड ६ लाख ६७ हजार बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख ९५ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको मन्त्रालयले जनाएको छ।
लकडाउन सुरु भएपछि खाद्य पदार्थ आयातमा वृद्धि भएको छ। लकडाउनको पहिलो हप्ताको तुलनामा आठौँ हप्तामा खाद्यान्न आयातमा ८२.६ प्रतिशत तथा दलहन र गेडागुडी आयातमा १२१.१ प्रतिशतले वृद्धि भएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी तरकारीको आयात ९.६ र फलफूलको आयात ३०५ प्रतिशतले वृद्धि भएको छ।
मन्त्रालयका अनुसार रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट सामान आयात भइरहेको छ।
मन्त्रालयका अनुसार हाल सरकारी कम्पनी र निजी क्षेत्रमा गरी १ लाख ८२ हजार ४२९ मेट्रिक टन चामल, एक लाख ३८ हजार मेट्रिक टन नुन, ६५ हजार मेट्रिक टन चिनी, ८३ हजार मेट्रिक टन खाने तेल, १६ हजार मेट्रिक टन दाल तथा गेडागुडी मौजाद रहेको छ।
Facebook Comment