सिन्धुलीका ४७ जनाको पिसिआर रिपोर्ट आयो, घरटोल सिल
सिन्धुली । जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ।
पिसिआर विधिबाट जाँच गर्न स्वाब सङ्कलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो ।
तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रसन्नजङ्ग राजभण्डारीले जानकारी दिए ।
उन्ले भने, “आरडिटी विधिबाट जाँच गर्दा पोजेटिभ आउने २७ र अरु केही व्यक्तिको गरी ५० जनाको मङ्गलबार थ्रोट स्वाब पठाइएकामध्ये ४७ जनाको रिपोर्ट आएको छ।”
अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्य र सुरक्षाकर्मी, पत्रकार, नागरिक, प्रतिनिधि, कर्मचारीको परीक्षणमा गरिएको थियो । पिसिआर विधिबाट जाँच गर्दा अब बाँकी तीन जनाको रिपोर्ट आज आउने बताइएको छ ।
घरटोल सिल
कमलामाई नगरपालिका–९ पन्नेसीमा पाँच घर सिल गरिएको छ । मङ्गलबार काठमाडौँमा कोरोना भाइरस सङ्क्रमित २७ वर्षीया महिलामा कोरोना भाइरस देखिएपछि उहाँको छिमेकी घर पनि सिल गरिएको हो ।
बन्दाबन्दीका समयमा केही दिनअघि महिला घरबाट काठमाडौँ गएको कन्टयाक्ट ट्रेसिङमा खुलेपछि घर सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिए ।
सिल गरिएका क्षेत्रमा सुरक्षा सतर्कतासमेत अपनाइएको छ । कन्टयाक्ट ट्रेसिङ गरिएको र महिलाका परिवारका नौसहित ४१ जनालाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न आग्रह गरिएको उनले बताए ।
साहका अनुसार आज स्वाब सङ्कलन गरी प्रादेशिक अस्पताल हेटौँडामा पठाइने छ।
बजार सुनसान बन्दै
बन्दाबन्दीमा पनि बजारमा मानिसको आवतजावत र चहलपहल बाक्लै थियो । सोमबार आरडिटी विधिबाट कोरोनाको जाँच गर्दा केही व्यक्तिलाई पोजेटिभ देखाएपछि बजार सुनसान हुन थालेको छ ।
कोरोना भाइरसको सिन्धुली उच्च जोखिममा रहेका अवस्थामा पनि विभिन्न बहानामा सर्वसाधारणको बजारमा भीडभाड नै हुने गरे पनि एकाएक आरडिटी पोजेटिभ आएपछि बजार भने सुनसान हुन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सामाजिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ ।
बिहान हुने भीडभाडले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम कायम रहिरहेका बेला सिन्धुली अस्पतालमा आरडिटी गर्दा केहीको पोजेटिभ आएपछि बजारमा मानिसको आवतजावतमा कमी आएको छ। रासस
Facebook Comment