कोरोनाले सिकाएका सकारात्मक कुरा

डिसी नेपाल
८ जेठ २०७७ ८:१४

काठमाडौं। संसार अहिले कोरोनाको कारण संवेदनशील र संकटमा गुज्रिएको छ। यसले दिएका दुःख पीडाहरु, मानवीय र आर्थिक क्षतिका नकारात्मक कुराहरु हामी सबैलाई थाहा नै छ। यस्तो घडीमा आफूलाई सुरक्षित र सकारात्मक राख्नु हामी सबैको अहिलेको आवश्यकता हो, हामीले बुझेका र महसुस गरेका केही सकारात्मक पक्षहरुको कुरा गरौं।

संसार प्रगतितर्फ निकै उन्मुख भैरहेको बेला हामी त्यही प्रगतिको पछाडि यति दौडिरहेको छौं कि हामीलाई घरमा बस्ने थोरै फुर्सद पनि छैन। यो कोरोनाले यो अव्यवस्थित भागदौडलाई नियन्त्रण गरेको छ,जसले गर्दा मानिसहरु घरमा केन्द्रित भएका छन। भलै दुरी कायम छ।

परिवार र समाजका हरेक कुराहरु नजिकबाट नियाल्न पाएका छन्। आमाले बनाएको मीठो खाने कुरा धेरै पछि चाख्न पाएका छन, ठूलो भैसकेको छोराछोरीले खाना बनाउन सिकेका छन, आफ्नै हातले परिवारलाई खाना खुवाउन जान्ने भएका छन्।

घरका सबै कामहरु मिलेर गर्ने मौका मिलेको छ, रचनात्मक कुराहरु र जीवन शैली सिक्ने मौका मिलेको छ,आमाबुबाले आफ्नो छोराछोरीलाई नजिकबाट चिन्न पाएका छन्। पारिवारिक र सामाजिक सम्बन्ध कायम भएको छ। यसरी बर्सौंदेखि छुटेका आफन्तहरुसँग एकपटक फेरि प्रेम साट्ने मौका मिलेको छ।

तपाईं जागिर गर्दै हुनुहुन्थ्यो अथवा कुनै पनि क्षेत्रमा कुनै पनि कार्य गर्दै हुनुहुन्थ्यो, तर व्यस्तता या विभिन्न कारणले आफूलाई अपडेट गर्न सक्नुभएको थिएन भने अहिले गजवको फुर्सद मिलेको छ। यो समयमा तपाईँ आफूलाई तयार गर्दै हुनुहुन्छ, आफूलाई बलियो बनाउँदै हुनुहुन्छ, कोरोनाको अवस्था सहज भएपछि तपाईँ सम्बन्धित क्षेत्रमा खरो उत्रिने तयारी गर्दै हुनुहुन्छ।

गाउँघरमा जनचेतनाको अभाव या विभिन्न कारणले दिनप्रतिदिन रोगहरु लाग्ने र रोगिहरुको संख्या बढिरहेको अवस्था छ। यो कोरोनाले उनीहरुमा चेतनाको स्तर थोरै भएपनि बढेको छ, घर आगन सफा राख्न, नियमित हात धुन, मास्क लगाउन, जे पायो त्यही चिज वा व्यक्तिको सम्पर्कमा झट्ट जानुपूर्व सोच्ने भएका छन्। जसले गर्दा सजिलोसँग लाग्ने विभिन्न रोगहरुमा कमी आएको छ।

डाक्टरको भनाइ अनुसार अस्पतालमा विमारीको चाप घटेको छ। यसरी हेर्दा कोरोनाले गर्दा मानिसहरुमा स्वस्थ हुनुपर्छ यसो गरे रोग लाग्दैन भन्ने चेतना बढेको छ भने मानिसहरु व्यवहारिक बन्न थालेका छन्।

सामाजिक संजालका विभिन्न माध्यमहरु जस्तै फेसबुक, युटुब, गुगल, रेडियो टिभी, पत्रपत्रिका आदिबाट धेरै नयाँ र महत्वपूर्ण कुराहरु सिक्ने सिकाउने अवसर मिलेको छ भने नयाँ सम्बन्धहरु पनि स्थापित गर्न मद्दत मिलेको छ। साथै लुकेर रहेका थुप्रै महत्वपूर्ण प्रतिभाहरु पनि बाहिर आएका छन्। अझ यसको प्रयोगकर्ता बढेकाले यिनै चिजका व्यवसायीको त आम्दानीको स्रोत समेत बढेको छ।

हरेक कुराको दुई पक्ष हुन्छन्। एउटा सकारात्मक, अर्को नकारात्मक। हामी नकारात्मक अवस्थामा नचाहेर पनि फसेका छौं। यो अवस्थाबाट बाहिर आउने कोशिस हामी गरिरहेका छौं। यो बेलामा आफूलाई सुरक्षित राख्नु एकदम जरुरी छ। डर र त्रासले व्यक्तिको मानसिकतामा नराम्रो असर पारेको छ। नकारात्मक कुराहरु भोग्नुपर्दा दुख त लाग्छ। तर सकारात्मक कुराहरु खोज्नुपर्छ, यो अस्तव्यस्त समयमा पनि हामी सकारात्मक कुराहरु अंगाल्न सक्नुपर्छ।

म पनि एउटा काम गर्ने मान्छे हुँ,व्यस्तताको कारण कयौं कुराबाट बन्चित भएको थिएँ। मलाइ फुर्सद मिलेको छ। मैले यो लकडाउनको अहिलेसम्मको अवधिमा ३० भन्दा बढी किताबहरु पढेर सकें। गाउँमा छु इन्टरनेट चल्छ। तैपनि हजार, पन्ध्र सय भन्दा बढी कविता, गीत र लेखहरु गुगलमा पढें। फेसबुकमै भएपनि कविता गजल र अन्य थुप्रै कुराहरु पढ्ने र म आफू पनि लेख्न सिक्दैछु।

असल व्यक्तित्वहरुसँग सम्बन्ध बनाउने कोशिस गर्छु। परिवार र समुदायसँग नजिक हुन पाएको छु। प्रत्येक घन्टा समाचार सुन्छु। कुनैकुनै मनपर्ने रेडियो कार्यक्रम सुन्छु। घरायसी कामहरु सबै गरेकै छु व्यायाम र खानपिनमा ध्यान दिन्छु। यसरी म मानसिक,शारीरिक आदि धेरै कुरामा आफूलाई व्यस्त बनाउने र यो समयको भरपुर प्रयोग गर्दै आफूलाई अपडेट गर्ने सक्दो कोसिस गर्दैछु।

नोवेलिस्ट सुविन भट्टराई भन्छन्– निश्चय पनि हो कि शरीरलाई घरभित्र थुनिएको छ। तर मन कहीँ थुनिएको छैन। दिमाग कुनै हालतमा थुनिन मान्दैन। रहरहरु अटेरी छन्। तिनलाई दिनुस्, घरको गेट खोलेर बाहिर निस्कनलाई।

तिनलाई छाडिदिनुस् उदात्त, उन्मुक्त भइ सडक, गल्ली, चोक, अनि खुल्ला मैदानमा। तिनलाई चढाइदिनुस्, बस, प्लेन अनि पानीजहाजमा, जाऊन् कहाँ जान्छन्। गरुन् जे गर्छन्। निस्फिक्री छाडिदिनुस्!

बस् ! शरीरलाई मात्र रोक्नुस् र राख्नुस् घरभित्र। र देखिरहनुस् सपना। हुर्काइरहनुस् योजना। तिखारिरहनुस् क्षमता। भोलि जब चलायमान हुनेछ संसार, पँखेटा फिँजाएर उडौँला नि!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *