‘अमेरिकाले कोरोनाभाइरसबारे भ्रम फैलाउँदैछ’

डिसी नेपाल
८ जेठ २०७७ ८:२४

काठमाडौं। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकामाथि कोरोनाभाइरसको संक्रमणबारे भ्रम फैलाएको आरोप लगाएकी छन् । चुनयिङले अमेरिकाबाट निरन्तर जारी गरिएका गलत सूचनाबाट मानिसहरु भ्रममा पर्नसक्ने र कैयौं मानिस गुमराहमा पर्नसक्ने खतरा रहेको बताएकी हुन्।

उनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको बचाउ गरेर उल्लेख गरेकी छन्– “संयुक्त राष्ट्र संघ अन्तर्गतको एजेन्सी डब्ल्यूएचओ‌को नेतृत्वमा ९० प्रतिशत भन्दा धेरै अमेरिकी अधिकारीहरू छन् । यसले मानवीय स्वास्थ्य समस्याका विषयमा काम गर्छ,” उनले भनेकी छन् ‘मैले भनेको माने तिमी बाँच, मैले भनेको नमाने तिमी मर’ भन्ने यो कस्तो खालको अमेरिकी विज्ञान र प्रजातन्त्र हो ?”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका पदाधिकारीले दिइरहेका सूचना तथा अभिव्यक्तितर्फ संकेत गर्दै उनले सामाजिक ट्विटरमा अमेरिकाले पहिले झुट बोलेर पछि आफैले सत्यतथ्य बोलिरहेको उल्लेख गरेकी छन्।

ट्रम्पले आजमात्रै संक्रमितको संख्या धेरै देखिनुको अर्थ अमेरिकामा परीक्षण अरु देशमा भन्दा राम्रो भइरहेको र यो सम्मानजनक विषय बताएका थिए । ट्रम्पकाे आजको र यसअघिका अभिव्यक्तिलाई लिएर मानिसहरुलाई भ्रममा पार्ने कोसिस गरेको आरोप चीनले लगाएको हो।

२३ जनवरीमा वुहानलाई लकडाउन (बन्दाबन्दी) गर्दा अमेरिकाले आफ्नो देशमा एक जनामात्र संक्रमित रहेको दाबी गरेको र १३ मार्चमा अमेरिकाले आपतकाल घोषणा गर्दा १ हजार ८९६ जना मात्र संक्रमित रहेको सूचना दिएको उनले उल्लेख गरेकी छन् ।

उनले संक्रमण कसरी बढ्यो भन्ने तथ्यांकलाई राख्दै प्रवक्ता चुनयिङले सोधेकी छिन्, “अब को जिम्मेवार हुनुपर्छ?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *