गर्भवती लिएर हिँडेको एम्बुलेन्सलाई बाघहरुले घेरे, एम्बुलेन्सभित्रै जन्मियो बच्चा

डिसी नेपाल
९ जेठ २०७७ ८:५२

काठमाडौं। कोरोनाभाइरसका कारण लकडाउन भएपछि बाहिरी क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ । मानिसहरु घरभित्रै भएपछि बाहिरी खुल्ला क्षेत्रमा जंगली जनावर स्वतन्त्र घुम्न थालेका छन् । भारतको गुजरातमा यस्तै रोचक घटना भएको छ । एम्बुलेन्समा गर्भवती महिलालाई लिएर हिँडेको एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएकी छिन् । बाघहरु हटेपछि मात्र महिलालाई अस्पताल पुर्याउन सकिएको थियो ।

२० मेको रात करिब १० बजेर २० मिनेटको समयमा गडढाको भाखा गाउँकी अफसाना सबरिश रफिकलाई अचानक व्यथा लाग्यो । महिलाले पीडाले बेहाल थिइन् । परिवारले उनको नाजुक अवस्था देखेर तत्कालै एम्बुलेन्सलाई फोन गरे । एम्बुलेन्स आएर महिलालाई लिएर अस्पतालतिर हिँड्यो । तर, बाटोमा ४ वटा बाघहरुले एम्बुलेन्सको बाटो रोके । यी बाघहरु एम्बुलेन्सको बाटो रोकेर बसेको देखिएको थियो ।

बाघहरुलाई बाटोबाट हटाउन कसैले हिम्मत गर्न सकेनन् । बाघहरु झुण्डमा थिए र रातको समय भएकोले सबै डराएका थिए । महिलाको हालत बिग्रिँदै थियो । अन्ततः एम्बुलेन्समा रहेका अपतालका प्राथमिक उपचार कर्मचारीले नै हिम्मत गरेर महिलालाई सुत्केरी गराए । महिलाले छोरी जन्माइन् । यो पूरै घटनाक्रममा क्रममा चारवटै बाघहरु गाडी वरिपरि घुमिरहे । २० मिनेटपछि बच्ची जन्मिएपछि बल्ल बाघहरुले बाटो छोडे अनि महिलालाई अस्पताल पुर्याइयो । महिला र बालिका स्वस्थ भएको बताइएको छ ।




प्रतिक्रिया

One thought on “गर्भवती लिएर हिँडेको एम्बुलेन्सलाई बाघहरुले घेरे, एम्बुलेन्सभित्रै जन्मियो बच्चा

  1. अब बच्चाको नाम पनि बाघ नै राख्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *