भारतबाट फर्किएकालाई राख्न क्वारेन्टिन थप्दै स्थानीय तह

झिमरुक । कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्यूठानका नौवटै स्थानीय तहले क्वारेन्टिनको सङ्ख्या बढाउन थालेका छन् ।
भारतका विभिन्न स्थानबाट घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि उनीहरुको व्यवस्थापनका लागि जिल्लामा क्वारेन्टिनको सङ्ख्या बढाउन थालेको हो । प्युठान नगरपालिकाले नगरका २२ स्थानमा कूल २५० श्ययाको क्वारेन्टिन निर्माण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए । बाहिरी देशबाट आउने व्यक्ति थपिन थालेपछि आवश्यकताका आधारमा विभिन्न टोल, विद्यालय, सावर्जनिक भवनमा क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै लैजाने योजना रहेको उनले बताए ।
जिल्लाको स्वर्गद्वारी नगरपालिकामा पनि ३०० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरेको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए । नगरको निर्णयानुसार प्रत्येक वडाको माध्यामिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने केसीले बताए । भारतबाट हालसम्म ११ व्यक्ति आएको र अन्य १५/२० जना सम्र्पकमा आएको हुनाले उनीहरुलाई यातायातको व्यवस्थापन गरेर सिमानाबाट नगर क्षेत्रमा ल्याइ क्वारेन्टिनमा राखिने स्वास्थ्य शाखा प्रमुख केसीको भनाइ छ ।
माण्डवी गाउँपालिकाले पनि भारतबाट आउने व्यक्तिको सङ्ख्या बढ्दै जान थालेपछि क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै गएको प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए । गाउँपालिकाले अहिले १५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिसकेको छ । आवश्यकताका आधारमा पाँचवटै वडामा ५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिने उनले जानकारी दिए। यहाँका दुई हजार २०० बढी व्यक्ति भारतमा रहेको र एक हजार बढीले वडाध्यक्षमार्फत आफ्नो घर पर्कनका लागि सम्पर्कमा आएको उहाँको भनाइ छ । आवश्यकता परेमा पुनःक्वारेन्टिनको सङ्ख्या पनि थपिने उनले बताए ।
सरुमारानी गाउँपालिकाले पनि हालसम्म १४० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिसकेको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए । हालसम्म ३६ जना भारतबाट आएको उनको भनाइ छ । पालिका क्षेत्रका व्यक्ति दुई हजार ५०० देश बाहिर रहेको र करिब ३०० आउनका लागि सम्पर्कमा आएको रायमाझीको भनाइ छ । त्यस्तै ऐरावती गाउँपालिकाले पनि भारतबाट आउने व्यक्ति थपिदै जान थालेपछि हालसम्म २०० श्यया क्षमताको विभिन्न विद्यालयमा क्वारेन्टिन निर्माण गरेको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले जानकारी दिए। हालसम्ममा ८३ जना आइसकेको उनको भनाइ छ ।
यस्तै मल्लरानी गाउँपालिकाले पनि बाहिरबाट आउने व्यक्ति थपिदै जान थालेपछि क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै गएको स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए। सात स्थानमा ७५ श्यया क्षमताको क्वारेन्टिन निर्माण गरेको उनको भनाइ छ । आवश्यकताअनुसार थप गर्दै लैजाने शाहीले बताए । झिमरुक गाउँपालिकाले पनि हालसम्म १२ स्थानमा १५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरेको जनाएको छ । गौमुखी गाउँपालिकामा सात स्थानमा १४५ श्ययाको क्वारेन्टिन निर्माण गरेको छ भने नौबहिनी गाउँपालिकामा छ स्थानमा ९८ श्ययाको क्वारेन्टिन निर्माण गरिएको जनाएको छ ।
Facebook Comment