जर्मनीमा निगुरोको स्वाद, निगुरो वार्ता र सोल्टीको मेन्यू

डिसी नेपाल
१० जेठ २०७७ १७:००

हामी काम विशेषले प्रायः दैनिकजसो फोनमा कुराकानी गरिरहेका हुन्छौं । एकदिन साँझ पनि फ्रान्सबाट पत्रकार ददी सापकोटाले फोन गर्दै हाम्रो एक कार्यक्रमको तयारीको बारेमा पछिल्लो जानकारी लिनुभयो । औपचारिक काम कुराको जानकारी पश्चात केही घरायसी भान्साका कुरा भए ।

घरमा सुत्केरी श्रीमती भएकोले म त प्रायः भान्सामै केन्द्रित पो छु त भनेपछि “के पकाउँदै हुनुहुन्छ” भनेर सोध्नुभयो । “हामीले घरमा खानाको एउटा तालिका बनाएका छौं, सोही अनुरुप चल्ने गरेका छौ”ं भनेपछि ददीजी मज्जाले हाँस्नुभयो । उहाँले भन्नुभयो, “यो त जेल र अस्पताल जस्तो पो भयो, फलानो दिन फलानो खाना, (हाँस्दै ) सायद युरोपमा तालिका बनाएर खाना खाने नेपाली तपाईहरु मात्रै होला । अनि आज त्यसो भए के छ त तालिकामा” भन्नुभयो, मैले “खसीको मासु तर भोलिको लागि यो हरियो कुरिलो छ” भनेर फ्रिज खोलेर देखाएपछि ददीजीले “वाह कुरिलो, निगुरो, रायोको साग र फर्सीको मुन्टा त मेरो सबैभन्दा मनपर्ने तरकारीमा पर्छ” भनेपछि अनी निगुरोको बहस हामीबीच शुरु भयो ।

भोलिपल्ट विहानै फेसबुक मेसेन्जरमा सोधें, “ददी सर जर्मनीमा निगुरो कहाँ पाइन्छ, तपाईलाई केही थाहा छ ?” उत्तर आयो “चाइनिज र इन्डियन तरकारी पसलमा पाउन सकिन्छ । ” म सोच्दै थिएँ, म बसेको सानो ठाउँमा त ठुला चाइनिज र इन्डियन तरकारी पसल छैन, कता पाईएला भनेर घरमा कुरा गरिरहेको थिएँ । राति दश बजेतिर गैह्र आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं व्यवसायी जीवा लामिछानेले “आजको पौरख ः निगुरो ( हाम्रोतिर निउरो भन्छन ) टिप्ने र पकाउने काम” भन्दै फेसबुकमा तस्वीहरु राख्नुभएपछि निगुरोको चर्चा र बहसले ठूलो क्षेत्रफल लियो ।

फेसबुकको सो पोष्टमा तल टिप्पणीहरु सुरु भए । अनि म पनि जर्मनीमा निगुरो कहाँ कता पाइन्छ, के खान योग्य होला त सबै निगुरोहरु भनेर सोधपुछ गर्न लागें । फेरि ददीजीले फोन गर्दै “लौत दीपकजी कोही वनस्पतीको क्षेत्रमा अध्ययन गरेका वा गर्दै गरेका विज्ञहरु खोज्नुप¥यो निगुरोको बारेमा केही कुरा गर्नुपर्लाजस्तो लाग्यो ” भनेपछि लागियो विज्ञ खोज्न । त्यसपछि जर्मनीस्थित विश्वविद्यालयमा अध्ययन गरिरहेका केही नेपालीहरुसँग कुरा भयो तर ठ्याक्कै उन्यूको क्षेत्रमा पढ्दै गरेकालाई मैले प्रत्यक्ष भेट्न सकिन ।

निउरोका दर्जनौ परिकार तयार पार्न मिल्ने भएकाले समयअनुसार यसका परिमार्जिन परिकार पनि थपिदै जान्छन् । मलाई खुशी लाग्छ, नेपाली परिकारले यसरी महत्व पाउँदा हामीजस्ता यस क्षेत्रमा काम गर्नेहरु कति खुशी हुन्छौ नि हैन ?

बर्लिनमा भु—विज्ञानका विषयमा अध्ययनरत रामकुमार सापकोटासँग कुरा भयो । सापकोटामार्फत नेपालको गोदावरीमा अध्ययनरत वनस्पति विज्ञ हेमराज पौडेलसँग कुरा भयो । पौडेलले निगुरोलाई पौष्टिकताले भरिपूर्ण भएको वनस्पतिका रूपमा चित्रण गर्दै प्रोटिन, क्याल्सियम, भीटामिन ’ए’ लगायतका धेरै पौष्टिक तत्वहरू पाइने बताउनुभयो । यो जैबिक भएकाले कोलेस्टेरोल अथवा बोसोजन्य पदार्थ पाइँदैन, नेपालमा पाइने र खाइदै आएको निगुरो विषाक्त नहुने, तर पनि जंगली बनस्पति खाँदा संयम र सजग रहनुपर्नेमा उहाँको जोड थियो ।

अनि मैले जर्मनीमा टिपिएको निगुरोको तस्वीर जीवा लामिछाने सरको फेसबुक वालबाट साभार गरेर पठाएपछि पौडेलजीले खान हुने बताउनुभयो । यो नेपालको जस्तै हो । खाँदा अत्यन्तै राम्रो, कुनै हानी गर्दैन भनपछि एनआरएन अभियन्ता, साहित्यकार एवं व्यवसायी जीवा लामिछानेलाई मैले सम्पर्क गरेर सर निगुरोको बारेका केही कुरा गरौं भनेपछि हुन्छ नि भन्नुभयो र साँझ केही अनौपचारिक र औपचारिक कुरा भए । जीवा लामिछानेले भन्नुभयो,

“ निगुरोचाहिं मैले नेपालमा सबैतिर देखेको छु, पहाडतिर चाहिं अलि कालो कालो र हाम्रो (चितवन) तिर चाहिं हरियो हरियो पाइन्छ । सामान्यतयाः यही बर्षायाम शुरु हुनुपूर्व टुसा पलाउने हुन्छ । हामी सानै हुँदा शनिबार र अरु छुट्टीका दिन जंगलतिर गोठालो जाँदा निगुरो टिपेर ल्याउने गथ्र्यौ । एक प्रकारको छुट्टै उत्साह हुने गथ्र्यो, फेरि असाध्यै मिठो हुने के यो निगुरो । तरकारीभन्दा पनि आमाले बनाएको अचार त्यसमा चुकअमिलो हालेर खाँदाको क्षण ( थुक निल्दै ) साह्रै सम्झना आइरहन्थ्यो ।

३५÷४० बर्ष अघिको त्यो याद अझै मनसपटलमा खेलिरहेको हुन्थ्यो, कहिलेकाहिं नेपालमा गएको बेलामा खाइन्थ्यो तर यता ( जर्मनी) मा हुँदा खान पाएको थिइन । जंगल छेउछाउ डुल्दै गर्दा कहिले कहिले निगुरो जस्तै वनस्पति त देखको हो यहाँ पनि, तर खान हुन्छ या हुन्न भन्ने मलाई चासोको विषय हुन्थ्यो । केही दिन पहिला यहाँ बस्ने एक जना बहिनीले हामीले त खाने गरेका छौं । नेपालमा पाइने र यहाँ पाइनेमा भिन्नता छैन भनेर भन्नुभयो । उहाँ बहिनी विहान विहान व्यायामको लागि बाहिर निस्कदा जंगलको छेउमा घर भएकाले टिपेर लैजाने गर्नुभएको रैछ । उहाँले पनि खानुअघि जर्मनीमै वनस्पतिशास्त्रमा उच्च अध्ययन गरिरहेका केही नेपालीलाई सोधेर स्पष्ट भएपछि विगत २ / ३ बर्षदेखि खादै आउनुभएको रहेछ । अब हामी पनि कोरोना भाइरसको प्रतिवन्धका कारण घरमै बसिरहेको, प्रतिवन्ध केही खुकुलो बनाएको भएपनि त्यति साह्रो काम नभएकाले नियम पालना गरेर, दुरी कायम गरेर हामी ६÷७ जना जंगल छेउछाउ निगुरो टिप्न निस्कियौं, मजाले टिपियो, मौसम पनि साह्रै राम्रो थियो ।

अनि घरमा ल्याएर म आफैंले पकाए । श्रीमती र छोरालाई पनि साह्रै मन परेको बताए । तर मैले अलिकति के गल्ती गरें भने, अब जंगलबाट टिपेर ल्याएको केही जिवाणु आदि इत्यादि होला भनेर उमालेको, अलि गलेछ नत्र त सबै ठीक रह्यो । बडो मज्जासँग खाइयो । सामान्य रुपमै गोलभेंडा र आलु मिसाएर पकाएको थिए । एकप्रकारले नोष्टाल्जिक नै बनायो नि । निगुरोको न्यास्रो मेटियो । अबचाहिं यसो फुर्सद निकालेर सप्ताहन्ततिर जंगलमा टिप्न जानुपर्ला भन्ने लागेको छ । हामीले त खायौं, अरुलाई पनि जानकारी होस्, खान सक्नुहोस् भनेर फेसबुकमा सेयर गरेको थिएँ । त्यसपछि धेरै मेसेज र फोनहरु आए । ओहो, युरोपमा पनि निगुरो पाइदो रहेछ, जर्मनहरु पनि खान्छन कि खाँदैनन होला भनेर चासो राख्नेहरु धेरै हुनुभयो ।

अब के छ भने नि कारोनाले गर्दा बन्द भएको रेष्टुरेन्ट पूर्णरुपमा खुलेपछि मार्केटिगं गर्न सकियो, प्रचार गर्न सकियो भने यहाँ पनि यसले बजार लिन सक्छ । यहाँका मान्छेलाई यसको महत्व र फाइदा थाहा नभएर पो हो कि त्यति खाएको मलाई थाहा छैन । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । यो पूर्णत जैविक हुन्छ । निउरो खानुको फाइदै फाइदा छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक छ भनेपछि अलि पछि यो कोरोना संकट पार भएपछि यसको बजारीकरणको पो गर्न पर्छ कि भन्ने चाहिं लागेको छ । ”

जीवा लामिछाने सँग यति कुरा सुनेपछि नेपालको पाँचतारे होटल सोल्टीमा पनि निगुरोको परिकारका मेन्यू राखेर स्वाद चखाएको कुरा केही पहिला सुनेको थिएँ । पछिल्लो यसको प्रयोगमा कमी आउन थाले पनि फाइभ स्टार होटलले भने आफ्नो मेनुमा राख्न थालेका मैले कतै पढेको थिएँ । सोल्टी होटलको सुसेफ आरबी बुढाथोकीलाई मेसेन्जरमा सन्देश पठाएर साँझतिर जुम एप मार्फत कुरा गरौं भने । निगुरोको बारेमा यस्तो छ आरबी बुढाथोकीको भनाइ–

“ हामीले विशेषगरीे बिदेशी पर्यटकलाई नेपाली स्वाद चखाउनको लागि निगुरोको विभिन्न परिकारका मेन्यू ल्याएका हौ । विदेशी कुटनितिज्ञहरु, पछिल्लो समयमात्र हामीले चिनियाँ राष्ट्रपति सी जिनफिगं, ब्रिटिस आर्मीका प्रमुखलाई यसको स्वाद चखाएका थियौं । विदेशी पाहुनाहरुले विदेशी खानाहरुको स्वाद पहिले नै लिइसकेको बताउने र नेपाली खानाहरु खाउँ न त भन्ने इच्छा जाहेर गर्ने हुँदा हामीले टिपिकल नेपाली खाना पस्कने गरेका छौं । हामीले निगुरोका परिकारहरुमा निगुरोको पिज्जा, छोइला, पास्ता, सलाद, साँदेको निगुरो, अचार, सुप आदि तयार गर्छाैं । एकपटक खाएपछि जसले पनि वाह अत्यन्तै स्वादिलो भनेर गएको र यसको बारेमा थप चासो राख्नेहरु भेटिए ।

अझ निगुरो पाइने ठाउँ, पूर्ण जैविक, यसका फाइदा, यसमा हुने भिटामिनका बारेमा बुझेपछि पाहुनाहरु अत्यन्तै जिज्ञासु र आगामी दिनमा पनि हामीलाई यहि स्वाद चाहिन्छ है भन्ने गरेका छन् । फेरि फेरि होटलमा आउने पाहुनाहरु सोधपुछ गर्दै अर्डर गर्छन् । हामीले निगुरोमात्र नभएर अन्य नेपाली खानाहरुमा फापरको रोटी र सिलमको अचार, छोइला, बारा, सिस्नोको सुप, गेडागूडीको झोल (क्वाटी), कोदोको पिच्जा, गोठ धुपको खिरजस्ता परीकारलाई पनि मेनुमा राख्न थालेका छौं । निउरोका दर्जनौ परिकार तयार पार्न मिल्ने भएकाले समयअनुसार यसका परिमार्जिन परिकार पनि थपिदै जान्छन् । मलाई खुशी लाग्छ, नेपाली परिकारले यसरी महत्व पाउँदा हामीजस्ता यस क्षेत्रमा काम गर्नेहरु कति खुशी हुन्छौ नि हैन ?

यसरी सोल्टी क्राउन प्लाजा होटेलका सुसेफ बुढाथोकीसँग कुरा गरेपछि फेरि मैले एनआरएनको फेसबुक ग्रुपमा वनस्पतीशास्त्र अध्ययन गरिरहेका कोही हुनुहुन्छ भने खबर पाउँ है भनेर सन्देश छोडेपछि एनआरएनकर्मी लोकमणि ढकाल, सुनिता थापा, जर्मनीका अध्यक्ष हरि न्यौपानेले दिनुभएका नामहरुबाट अरु बुझ्न थालें । एनआरएन जर्मनीका उपाध्यक्ष, जिव विज्ञान र बनस्पतीशास्त्रका अनुसन्धानकर्ता डा. यज्ञ अधिकारीसँग कुरा भयो ।

डा. अधिकारीसँग उन्यु प्रजाती बाहेकका अन्य क्षेत्रका विषयमा लामो छलफलपछि कोरोनाका विषयमा मिलेर एउटा लेख लेख्न मनलागेको कुरा सुनाउनुभयो र त्यसपछि पहिला त्यो काम फत्ते गरियो । भोलिपल्ट डा. अधिकारीले उन्यू, बकाइनो र अल्लोका विषयमा अनुसन्धान गरिरहेका उहाँका मित्र त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका पीएचडी स्कलर श्यामशरण श्रेष्ठसँग सम्पर्क गराउनुभयो । इटालीको पाडोभा विश्वविद्यालयसँग पनि आवद्ध अनुसन्धानकर्ता श्यामशरण श्रेष्ठको भनाइ यस्तो रह्यो–

“ विश्वभरि अहिलेसम्म उन्यूका १२ हजार प्रजाति फेला परेका छन् । नेपालमा अहिलेसम्म ५ सय ८२ प्रजातिका छन् । ९७ प्रतिशत उन्यु प्रजातिमै पर्छन । १२ हजारमध्ये केही १० ओटा जति प्रजातिका चाहिं बिषालु देखिएका छन् । हामीले खाइरहेको खालका अन्त कतै पाइन्छ भने त्यो खान सकिन्छ । मान्छे नै मर्ने खालको विषालु त अहिलेसम्म भेटिएको छैन । नेपालको हकमा केही बर्ष पहिला अछाम तिर निगुरो खाएर मृत्यू भन्ने समाचार त आएको हो तर पनि यसको ल्याव परिक्षण भने हुन जरुरी छ । यति भन्दै गर्दा फेरि निश्चिन्त भएर सबै खालका निगुरो खाइहाल्न चाहिं हुँदैन ।

यसका धेरै नै फाइदा छन् । कालो उन्यूमा अल्जाइमर रोगका लागि उपयुक्त हुने कम्पाउन्ड भेटिएको छ । नेपालमा पाइने कालो उन्यूमा विशेष गरी पेन्क्रियाटिक क्यान्सर र पाठेघरको क्यान्सरको औषधिका लागि उपयुक्त हुने ‘प्रोसाइनिडिन’ नामक कम्पाउण्ड भेटिएको छ । उन्यूमा भएका एन्टिअक्सिडेन्टहरु मेटाबोलिक रोगहरुको लागि पनि उपयुक्त हुने हामीले गरेको अनुसन्धानको एउटा निष्कर्ष छ । यसको वैज्ञानिक नाम ‘टेक्टेरिया कोडूनाटा’ हो । ३० देखि सय सेन्टिमिटरसम्म उचाइ हुने यो उन्यू ५ सयदेखि २५ सय मिटरसम्मको उचाइ भएको घना जंगलमा पाइन्छन् । अब सामान्य बुझ्ने गरी भन्नुपर्दा स्वस्थ्यका लागि पनि निउरो निकै राम्रो वनस्पती हो । यसबाट भिटामिन ए, बि र सिको मात्र पर्याप्त मात्रामा पाइन्छ । आइरनको मात्रा पनि हुन्छ । मुटु र मधुमेह रागीहरुका लागिसमेत निकै उत्तम आहार मानिन्छ । यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानी नहुन सक्छ । तर यसका साइड इफेक्टका बारेमा अध्ययन नभएकाले यसको असर यही नै हुन्छ भनेर भन्न सक्ने अवस्था भने छैन । ”

यति लेखेर यसलाई बिट मार्छु भनेर सोच्दै थिएँ । जर्मनीको ब्रेमेनमा रहेका व्यवसायी बेल गुरुगंको फोन आयो । सञ्चो विसन्चो आदानप्रदान भएपछि सोधें, “ खै त दाई कुक्सहाफेन आउने भन्या कहिले हो ? ” त्यति भनेपछि म एसेनतिर गएको थिएँ, बल्ल फर्केको, एसेनमा बडो मज्जाले निगुरोको अचार, तरकारी खाएर आइयो नि भाइ यसपाली भन्नुभयो । म त उत्साहित भएँ, यही विषयमा लेखिरहेको छु । अनि कहाँ कसरी भनेर सोधपुछ गरेपछि नमस्ते रेष्टुरेन्टका सञ्चालक यज्ञराज सुवेदी, दीपेन्द्र सुवेदीको नाम लिनुभयो । अनि केहीबेरमा फेसबुकमा “ दीपेन्द्र भाइलाई धेरै धन्यवाद निगुरोको अचार र तरकारीको लागि” भन्दै स्टाटस पोष्ट गर्नुभयो । अनि एकपटक दीपेन्द्रजी सँग कुरा गर्छु भनेर सम्पर्क गरें राती १२ बजे कुरा भयो । दीपेन्द्र सुवेदीको भनाइ यस्तो रह्यो ।

“कोरोना भाइरसका कारण लगाइएको प्रतिवन्धका कारण फुर्सदिलो भएपछि मेरो ससुरा बा, सासु आमा यसो पार्कतिर घुम्न निस्कनुभएको रहेछ । त्यतिबेला निगुरो भेटेर घरमा ल्याएर पकाएर खाएपछि मात्र हामीलाई थाहा दिनुभयो ।

“कोरोना भाइरसका कारण लगाइएको प्रतिवन्धका कारण फुर्सदिलो भएपछि मेरो ससुरा बा, सासु आमा यसो पार्कतिर घुम्न निस्कनुभएको रहेछ । त्यतिबेला निगुरो भेटेर घरमा ल्याएर पकाएर खाएपछि मात्र हामीलाई थाहा दिनुभयो । यो खान हुने रहेछ । हामीलाई केही असर गरेन भन्ने लागेपछि अनि हामिहरुलाई पनि निम्त्याउनुभयो । मज्जासँग खाइयो, खाएपछि एक प्रकारको उत्साह जाग्यो, अब कहाँ पाइन्छ जानु पर्छ टिप्न भन्ने लाग्यो । अब हामी नेपाल जाँदा सिजनमा भए त खाइन्थ्यो, कहिलेकाहिं अरु जर्मनी आउनेहरुबाट मगाएर खाइन्थ्यो ।

अब आफु बसेकै देश, त्यहींमाथि आफ्नै ठाउँमा पाइन्छ भनेपछि उत्साहित त हुने नै भइयो नि है न र ? हामीले टिपेर ल्याएपछि तरकारी, अचारलगायत मज्जासँग परिकार बनाएर खाइयो । नेपालबाट ल्याएको सुकेको निगुरो पनि सँगै खाइयो । पकाउँदै गर्दा रंगमा केही परिवर्तन आएपछि एकप्रकारको डर त भयो, यो खान हुने नहुने के होला भनेर । तर खाएर भोलिपल्ट सबै जना सही सलामत रहेपछि खान हुने रैछ भन्ने भयो । त्यसपछि हामी यसो घुमफिर गर्दै डर्टमुण्डको एक पार्कमा पुग्यौ । सिस्नुको बोट मुनितिरबाट खोज्दै जाँदा, माथिमाथि पुगेपछि मज्जाले संकलन गर्न सक्यौं । यही क्रममा हामीले तीनथरीका उन्यू पायौं । यो ( देखाउँदै ) एक प्रकारको हरियो, अर्को अलि अलि खैरो र कालो कालो, खैरो खैरो खालको पायौं । कालो कालो खालको चाहिं अलि मिठो लाग्यो । हामीले आफ्नो मातृभूमिसँगको यादलाई ताजा बनाउँदै एक प्रकारको नोष्टाल्जिक बनायो ।

अब यसलाई विभिन्न परिकारको रुपमा विस्तार गर्न त सकिएला तर अहिले हामीले त यसो नजिकका आफन्तजन, पाहुनाहरु आउँदा परिकारको रुपमा चखाएका छौं । कोसेलीको रुपमा प्रदान गरेका छौं । यसरी सबै मिलेर बाँडिचुँडी खाँदा मन साह्रै प्रफुल्लित भएर आउने रहेछ । यहाँका जर्मनहरुले थाहा नपाएर नै हो जस्तो लाग्छ । यस्ता बनस्पतिहरु नियमित रुपमा खाएको भने मलाई थाहा छैन । एकपटकको कुरा हो, हामी बसेको ठाउँ नजिक एक घर नजिक बगैंचामा फर्सि फलेको थियो । हामिले त्यसको मुन्टा व्यापक देखेर टिपेपछि जर्मनहरुले सोधेका थिए । के हो यो, किन टिपेको ? भनेपछि, यो त व्यापक स्वादिलो र मिठो हुन्छ । यसलाई त हामी पकाएर खान्छौं भन्दै उनीहरुलाई पनि स्वाद चखाएका थियौं । अहिले त त्यहाँ फर्सिका मुन्टा पाइन्न । उनीहरुले टिपेर खान थालेछन । अब यसरी नै यो निगुरो पनि युरोपेली मुलुकमा बस्नेहरुले स्वाद लिन सक्छन् । यसलाई अहिले व्यापारिक दृष्टिले त हेरिहालेको छैन । सिजनल भएकाले अहिले खाइएको छ । अब सधैं खाँदा पनि मिठो नहोला, यसलाई सुकाएर पछि पनि प्रयोगमा खाने गरी राख्न सकिन्छ । यसो अचारमा मिसाएर, स्वाद चाख्न पाउँदा नि मज्जा नै हुन्छ । आफन्त, साथीभाइहरु आउँदा निगुरोको स्वाद चखाउन पाइयो भने एक प्रकारको छुट्टै आत्मियता हुन्छ नि । ”

निगुरोको बारेमा धेरै जानकारी त माथि उल्लेख भएका पात्रहरुबाट प्राप्त भैसक्यो । यो जंगली वनस्पती वर्गमा पर्ने निगुरोलाई कतिपय ठाउँमा न्युरो, निउरो वा निहुरो पनि भन्ने चलन रहेछ । खैर मैले पनि कतै निउरो त कतै निगुरो भनेर लेखेको छु । वर्षातको समयमा जंगलमा आफै उम्रने निहुरोबाट हाम्रो घर काभ्रे तिर कतिपयले तरकारी र कतिले अचार बनाउँथे । अहिले पनि भान्सामा यसको प्रयोग हुन्छ । कतिपयले जंगलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निउरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् । अहिले त झन कोरोना भाइरसको फैलावट रोक्नका लागि गरिएको लकडाउनले नेपालमा प्रायः नागरिकहरु गाउँघरमा छन् ।

अब घर नजिकैको जंगलतिरबाट खोजेर आफ्नो भान्सामा पनि प्रयोग गर्न सकिन्छ । यो रोप्न पर्दैन । बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निउरोे पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मकरुपमा पहाडको जंगलमा पाइने निउरो बढी स्वादिलो हुने रहेछ । अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधी प्रयोग गरिन्छ । तर निगुरो बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात यो पूर्णत जैविक हुन्छ ।

हामीले थाहा पाइहाल्यौं निगुरो खानुको फाइदै फाइदा छन् । आफै बनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । बनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पौष्टिकताले भरिपूर्ण, स्वास्थ्यका लागि फाइदाजनक रहेको छ । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक हुने रहेछ । किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिकरुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की पनि लिन नपर्ने रहेछ ।

अब जर्मनीमा पनि निगुरो पाइने र खान हुने भनेपछि म पनि यसको खोजीमा लागेको छु । यो प्रकासित भएपछि यसमा उल्लेख गरिएका पात्रहरुसँगको भिडियो सहितको एउटा भिडियो रिपोर्ट पनि प्रस्तुत गर्नेछु । अनि अर्को चरणमा सिस्नुको बारेमा केही बुझ्ने प्रयास गर्दैछु । यसबारे जानकारी हुनेले तल उल्लेख भएको इमेलमा मसँग सम्पर्क पनि गर्न सक्नुहुन्छ ।

deepakdhital94@gmail.com
धन्यवाद ।




प्रतिक्रिया

One thought on “जर्मनीमा निगुरोको स्वाद, निगुरो वार्ता र सोल्टीको मेन्यू

  1. त​पाइको यो अनुस​न्धानात्म​क लेख र​ बिज्ञ​ह​रुको बास्त​बिक भ​नाइले धेरैलाइ स​त्य​ त​थ्य​ कुरा बाहिर ल्याएको छ​ ध​न्य​बाद छ​ मित्र​ दिप​क जी लाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *