राष्ट्रियताका पक्षमा दलहरूबीच अभूतपूर्व एकता

डिसी नेपाल
११ जेठ २०७७ ८:२४

काठमाडौं। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकप्रति संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र संसद बाहिर रहेका राजनीतिक दलले एकस्वरले स्वागत गरेका छन्।

राष्ट्रिय एकताको पक्षमा अहिले अभूतपूर्व एकता देखिएको छ। सरकारसँग कतिपय विषयमा मतभेद रहेपनि सीमा विवादका विषयमा सरकारको अडान सबै नेपालीको अडान भन्दै प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने तयारी गरेका छन्।

भारतले अतिक्रमति गरेको नेपाली भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले शुक्रबार संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो। उक्त विधेयकप्रति सबै राजनीतिक दलले समर्थन गरेका छन्।

संविधान संशोधनमार्फत आफ्ना माग सम्वोधन गर्नुपर्ने बताउँदै आएका मधेस केन्द्रित राजनीतिक दलले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने बताएका छन्। तर उनीहरुले यही बेलामा आफ्ना माग सम्वोधन गर्न सँगै संविधान संशोधन गर्नु पर्ने उसको माग छ। यही विषयमा जनता समाजवादी पार्टीले शनिबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छलफल गरेको थियो।

यसअघि भारतले नेपाली भूमि अतिक्रमित गरेर चीनको सिमानासम्म पुग्ने गरी ८० किलोमटिर सडक बनाएपछि प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादीसहित सबै राजनीतिक दलले नेपाली भूमि फिर्ता ल्याउने गरी अघि बढ्न सरकारलाई सुझाव दिएका थिए।

कुनै पनि देशको संविधान संशोधन गर्ने विषयमा यसरी सर्वसम्मति हुनु दुर्भल घटना हुने संविधानविद्हरु बताउँछन्। नेपालको संविधान जारी गर्दा केही मधेश केन्द्रित दलले बहिष्कार गरेका थिए। ‘संविधानसभाबाट संविधान बनाएका धेरै मुलुकमा सर्वसम्मति हुने गरेको छैन,’ पूर्व सभामुख सुवास नेम्वाङ भन्छन्, ‘आवश्यकता अनुसार संविधान संशोधन हुने हो। यसरी गरिने संशोधनमा सबै दलको सहमति हुने सकारात्मक कुरा हो।’

भारतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको परिस्थितिमा राजनीतिक दलहरुबीचको एकता अभूतपूर्व हो भन्न सकिन्छ। तर, सरकारले नक्सा परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावमा आफ्ना विगतका मागहरुसहित संविधान संशोधन हुनुपर्छ भनेर मधेशी दलले कुरा उठान गरेका कारण कतै यही बखेडाले मुलुकको नक्साजस्तो संबेदनशील विषयमा हुने संविधान संशोधनको प्रस्तावमा फेरि खेल हुने हो कि भन्ने नेपाली जनताको चासो र चिन्ता पनि प्रकट हुन थालेको छ।

शनिबार कांग्रेससँग छलफल गर्दै जनता समाजवादी पार्टीले अहिले संविधावन संशोधन गर्न लागिएका बेला तराई मधेसका पार्टीको माग सम्वोधन गर्न यही मेसोमा संविधान सम्वोधन गर्न सहयोग गर्न आग्रह गरेका थिए। यद्यपि अहिले आफूहरुको माग पूरा हुने अवस्था नआएपनि निशान छाप परिवर्तन गर्न संसदमा दर्ता भएको संविधान संशोधनप्रति भने आफूहरुको सहयोग रहेको जनता समाजवादी पार्टीका महासचिव केशव झाले बताइसेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *