कोरोना भ्याक्सिन विकासमा थाइल्याण्डको अद्भूत सफलता, विश्वका लागि जाग्यो आशा

डिसी नेपाल
११ जेठ २०७७ १०:३४

काठमाठौं। कोरोनाभाइरसको भ्याक्सिन विकासमा दक्षिणपूर्वी एसियाली देश थाइल्याण्डले विश्वको लागि आशा जगाएको छ । थायल्याण्ड भ्याक्सिन ट्रायलको दोस्रो चरणमा पुगेको छ । रोयटर्सको एक रिपोर्ट अनुसार थायल्याण्डले भ्याक्सिन विकासको पहिलो चरणमा सफलता हासिल गरेको छ । यहाँ मुसामा गरिएको परीक्षण सफल भएको छ । यो सफलतासँगै अब यहाँ बाँदरमा परीक्षण सुरु भइसकेको छ ।

यहाँका वैज्ञानिकले ६ देखि ७ महिनामा भ्याक्सिन बनाउन सक्ने घोषणा पनि गरेका छन् । थाइल्याण्डको उच्च शिक्षा विज्ञान, अनुसन्धान र आविष्कार मन्त्री सुवत म्यासेन्सेले मुसामा सफल परीक्षणसँगै अनुसन्धानकर्ता अर्को चरणतर्फ बढेको बताए । सेप्टेम्बरसम्म तीन डोजमा काम भइरहेको बताउँदै उनले सेप्टेम्बरमा स्पष्ट परिणाम आउने बताए । मन्त्री सुवतले शनिबार एक प्रेस ब्रिफिङका क्रममा यो परियोजना मानव जातिको लागि भएको बताए ।

यसअघि थाइल्याण्डका एक बरिष्ठ अधिकारीले पनि मुसामा गरिएको परीक्षणको नतिजा निकै सकारात्मक भएको बताएका थिए । यस्तोमा परीक्षणबाट अर्को वर्षसम्म भ्याक्सिन तयार हुने अपेक्षा गरिएको छ । प्रवक्ता ताविसिन विसानयुथिनले मुसामा भ्याक्सिनको सफल परिक्षणपछि अर्को हप्ता बाँदरमा एमआरएनए भ्याक्सिनको परीक्षण गरिने बताए । उनले अर्को वर्षसम्म यो भ्याक्सिनको मानवमा प्रयोग हुन सक्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *