विकास योजना र बजेट भुक्तानीको काम अन्तिम चरणमा

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो विकास बजेट र योजनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
गाउँपालिकाले विभिन्न योजनाको ६० प्रतिशत भुक्तानी र ९० प्रतिशत योजनाको काम सम्पन्न भइसकेको जनाएको छ । चालु आर्थिक वर्षमा सञ्चालित अधिकांश योजनाको काम अन्तिम चरणमा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले जानकारी दिए । योजनाको काम पनि ९० प्रतिशत सकियो बजेट पनि ६० प्रतिशत सकियो, असार मसान्तसम्म सबै योजनाका काम सम्पन्न गर्ने लक्ष्यअनुरुप काम भइरहेको गाउँपालिकाका लेखा अधिकृत आर्जन श्रेष्ठले जानकारी दिए ।
गाउँसभाले बजेट पारित गरेसँगै योजनाको ठेक्का सम्झौता गर्न आह्वान गरेको थियो । “तत्काल योजना कार्यान्वयमा लग्ने नीतिअनुरूप सम्झौता गरेका थियौँ”, अध्यक्ष शेर्पाले भने, “योजना सम्झौता गर्दा नै चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोेकेका थियौै। त्यहीअनुसार सबैले काम धमाधम गरेका छन् ।”
हेलम्बु गाउँपालिकाले चालू आर्थिक वर्षमा रु ४० करोडको बजेट ल्याएको थियो । अध्यक्ष शेर्पाका अनुसार हेलम्बुमा निर्माणाधीन ग्रेडट्रेलको काम पनि धमाधम अगाडि बढिरहेको छ । लकडाउनले गर्दा समस्या त भएका छन् तर समस्याका बाबजुद पनि ग्रेडट्रेलको काम सञ्चालन भइरहेको शेर्पाले बताए । त्यस्तै हेलम्बु गाउँपालिकाले नागरिकलाई दिने सेवा सुविधा सहजरुपमा उपलब्ध गराइरहेको छ ।
सेवा लिनका लागि गाउँपालिका आउने जोकोहीलाई पनि दूरी कायम गरेर सेवा दिइरहेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए ।
Facebook Comment