सीमा विवाद बल्झाएर विश्व समुदायबाट एक्लिन सक्छ भारत
नेपाली समाज विश्व समुदायसँगसँगै धेरै अगाडि बढिसकेको छ। विक्रम सम्वत १८१६ को समाज अब छैन। १९४७ र १९५० को समाज पनि आजको समाज होइन। नेपाली समाज धेरै किसिमले अगाडि बढिसकेको छ।
नेपाली नागरिक शिक्षित मात्रै होइन, विश्वका प्रायः सबै मुलुकमा उल्लेख्य संख्यामा रोजगारी तथा व्यवसायमा विभिन्न पेशा व्यवसाय, धर्म, संस्कृति, समाजमा संगत भएर उल्लेख्य रुपमा विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन्।
यस्तै गरी शक्ति राष्ट्रहरुको सरकारी संयन्त्रमासमेत नेपाली नागरिकहरु समावेश भएका र निर्णायक भूमिका निर्वाह गरेका छन्। अब नेपाल यस अर्थमा कमजोर छैन। जुन १८१६ र १९५० मा थियो। र, अब नेपाली जनता नेपालको सार्वभौमिकता रक्षा गर्न सक्षम छन्।
सन्दर्भ पछिल्लो समय नेपाल र भारतको सीमा विवादको हो। अझ भनौं यो नेपालले नभइ भारतले सृजना गरेको विवाद हो। भारतले नेपालको जग्गा हडपेको हो र साँध मिचेको हो। त्यही पृष्ठभूमिमा भारतीय शासक र भारतीय मिडियाको नेपालप्रति देखिएको हेपाहा प्रवृत्ति र सानो देशले केही गर्न सक्दैन भन्ने संकीर्ण सोचलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको हो।
अहिलेको नेपाली समाजलाई पनि पहिलेकै जस्तो ठान्ने र दबाउन खोज्ने ठूल्दाइ सोच राख्नेहरुले बुझ्नुपर्ने कुरा के हो भने आजका नेपाली आफ्नो देशको सार्वभौकिता रक्षा गर्न त सक्षम छन् नै, आवश्यकता परेमा सीमा विवादको विषय अन्तर्राष्ट्रियकरण गर्न र विश्व समुदायको समर्थन र सहयोग लिन पनि नेपालीहरु सक्षम छन् र सफल हुन्छन्। त्यसैले नेपालीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार हाम्रा निकट छिमेकीहरुले सच्याउन र परिवर्तन गर्न आवश्यक छ।
भारतले नेपालको जग्गा हडपेको हो र साँध मिचेको हो। त्यही पृष्ठभूमिमा भारतीय शासक र भारतीय मिडियाको नेपालप्रति देखिएको हेपाहा प्रवृत्ति र सानो देशले केही गर्न सक्दैन भन्ने संकीर्ण सोचलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको हो।
हामी नेपाली कसैसँग वैरभाव र दुश्मनी चाहँदैनौं। त्यसमा पनि भारत हाम्रो नजिकको घनिष्ट मित्र हो। जोसँग हाम्रो सबै व्यवहार गाँसिएका छन्। सामाजिक रुपले, धार्मिक रुपले, आर्थिक रुपले, भौगोलिक रुपले । यी सबै कुरालाई मध्यनजर गर्दै समग्र सीमा विवादको एक साथ समाधानको सूत्र भारत आफैंले अगाडि सार्नु उपयुक्त हुन्छ । यो नै दुवै देशसँगै पूरै विश्वको लागि हितकर कुरा हो । दुई देशबीचको आपसी हित र आपसी भाइचारा विश्व सामु देखाउन पनि भारतले विवाद समाधानको लागि पहल थाल्नु आवश्यक देखिन्छ ।
पछिल्लो समय नेपालले संशोधित नक्सा जारी गरेको छ । यो नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालभित्र देखाइएको छ । यी तीनवटै क्षेत्र भारतले उपभोग गर्दै आएको थियो जसमाथि नेपालले आफ्नो स्वामित्व रहेको विश्वसामु प्रस्ट पारेको छ।
पछिल्लो समय यी तीन क्षेत्रका विषयमा मात्र विवाद भएको जस्तो देखिएको छ तर वास्तविकता त्यो होइन। नेपाल भारत सीमामा सयौं क्षेत्रमा विवाद छ । संवादमार्फत विवाद समाधान गर्नुको अर्थ यी तीन क्षेत्रको समस्याको समाधानमात्रै होइन, त्यो त केवल ३६ हजार वर्ग हेक्टरको मात्रै समस्या हो।
समाधान गर्नैपर्ने समस्या नेपालको उत्तरपश्चिमी सीमा क्षेत्रमा मात्र होइन धेरै छन् । अहिले सीमा समस्या समाधान गर्नु भनेको पूर्वको सन्दुकपुरदेखि मध्य क्षेत्रको सुस्ताहुँदै उत्तर पश्चिमको कालापानीसम्मका सीमा क्षेत्रमा समग्रमा मिचिएको ८२ हजार बर्ग हेक्टर क्षेत्रफलको एकसाथ छिनोफनो गर्नु हो ।
मिचिएको नेपाली भूमिमा नेपालको स्वामित्व स्थापित हुनु हो । सारिएका सीमा स्तम्भ (दशगजा) सही ठाउँमा पुनः स्थापित गरिनु हो । हराएका वा गायब पारिएका सीमा स्तम्भलाई पुनः स्थापित गरिनु हो । यसका लागि भारत सरकारले ठूलो दिल देखाएर एकैसाथ समाधानको सुत्र र मिलनविन्दु अगाडि सार्न जरुरी छ।
होइन भने भारतले बुझ्नुपर्छ अहिले नेपाल पहिलेको जस्तो निरीह छैन । नेपालीहरु पहिलेजस्ता जे भन्यो त्यही मान्ने पनि छैनन् । अहिलेसम्म अमेरिकाको राज्यसत्तादेखि ब्रिटिस गोरखा फौज र रसियन राज्यसत्ता हुुँदै मुस्लिम मुलुककासमेत शासकीय भूमिकामा समेत नेपालीको सहभागिता र उपस्थिति पुगिसकेको छ।
संसारभर भोलि एकसाथ लविङ गर्दा र विरोधमा उत्रिँदा भारतले सोचेजस्तो सजिलो अहिलेको युगमा संभव छैन। भोलि ठूलो परिमाणमा अन्तर्राष्ट्रिय दबाब सृजना हुँदा भारतले त्यो दबाब थेग्न सक्ला कि नसक्ला भन्ने उसले अहिले नै सोच्नुपर्छ । सहकार्यका आधारमा चलिरहेको विश्व समुदायमा यदि यही कारणले भारत एक्लिनुपरेमा उसको लागि त्यो निकै भयानक स्थिति हुनेछ ।
नेपाली समाज धेरै अगाडि बढिसकेको र धेरै सुशिक्षित भइसकेको अवस्थामा नेपाललाई चीनको मात्र साथ होइन, पाकिस्तानको मात्रै साथ होइन, संसारले नै साथ दिने र सहयोगको संभावना देखेर नै सत्यता र आफ्नो प्रमाणले बोलेको कुरा समेतलाई महशुस गरेर नेपाल सरकारले कदम चालेको छ। यो कुरा भारतले समयमै बुझ्दा र समाधानका लागि कुटनीतिक प्रयास सुरु गर्दा राम्रो हुन्छ।
हामी अन्यन्तै निकटस्थ र भारतका धेरै असल र धेरै नजिक रहन चाहने मित्र हौं। संसारसामु भारत जे कुरा लिएर अगाडि बढ्छ, त्यसलाई प्रत्यक्ष, अप्रत्यक्ष नेपालले सधैं साथ दिएको र हामी नेपाल–भारत समग्र पशुपतिनाथ, विश्वनाथ, दैविक आर्शीवाद एकसाथ लिएर र ग्रहण गरेर आएका एकै संस्कृति र संस्कार लिएर अगाडि बढेका समाज हौं। हाम्रो सबै जातजाति र धर्म संस्कृतिको जगेर्ना गर्ने साझा मनसाय उस्तै छ।
हाम्रा हजारौं बेटा बेटीको सम्बन्ध र संस्कार स्मरण योग्य छ। त्यसैले यो सीम विवादलाई यथावत नराखेर, विवादलाई यो भन्दा बढी मौलाउन नदिइकन दुई देशका सरकार प्रमुख आमने सामने बसी कुटनीतिक प्रयासको माध्यमद्वारा फेरि घाउ नबल्झिने गरी ८२ हजार हेक्टर बर्ग किलोमिटर जमिन नेपालको फिर्ता गर्ने र अब आइन्दा विवाद कायम नराख्ने कुटनीतिक माध्यमद्वारा समाधान गर्नु दुवै देशको हित र नागरिकको हितमा हुनेछ।
Facebook Comment