कोरोनाका कारण वैदेशिक व्यापार १२ प्रतिशतले घट्यो

डिसी नेपाल
१४ जेठ २०७७ १६:२३

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को महामारी र संक्रमण रोक्न गरिएको लकडाउनका कारण नेपालको बैदेशिक व्यापार १२ प्रतिशतले घटेको छ। कोरोना र लकडाउनका कारण आयात र निर्यात दुवै प्रभावित भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार गत आर्थिक वर्षको बैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब ६७ करोड रुपैयाँ कुल वैदेशिक व्यापार रहेकोमा चालु आवको सोही अवधिमा १ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँले घटेर ११ खर्ब ७ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ।

बैशाखसम्ममा आयात १२.९९ प्रतिशतले घटेको छ। गत वर्ष ११ खर्ब ७८ अर्ब रुपैयाँ आयात भएकोमा चालु वर्षमा घटेर १० खर्ब २ अर्ब ५१ करोड रुपैयाँ बराबरको आयात भएको छ।

त्यस्तै निर्यातको बृद्धिदर पनि घटेको छ। चालु आवको फागुनसम्ममा २२ प्रतिशतले निर्यात बृद्धि भएकोमा बैशामसम्ममा ४.५० प्रतिशतले बढेर ८२ अर्ब ६ करोड रुपैयाँको निर्यात भएको छ।

सरकारले कोरोना संक्रमण रोक्न गरेको लकडाउनयता दुई महिनामा मात्र नेपालमा एक खर्ब रुपैयाँ बराबरको आयात भएको छ। यस अवधिमा ७ अर्ब १५ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ।

लकडाउनको अवधिमा खाद्यान्न, औषधीलगायत अत्यावश्यक सामग्रीको आयात भइरहेकोको छ। आयात घटेपछि बैशाखमा व्यापारघाटा १४.२४ प्रतिशतले कमी आइ ९ खर्ब ४३ अर्ब पुगेको छ। गत बर्षको सोही अवधिमा व्यापारघाटा १० खर्ब ९९ अर्ब रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *