आर्थिक वर्ष २०७७/०७८ को बजेट आज, कृषि र रोजगारी प्राथमिकतामा

डिसी नेपाल
१५ जेठ २०७७ ९:०२

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट आज प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संददको दुवै सदनको ४ बजे बस्ने संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन्।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र यसले ल्याएको आर्थिक मन्दीसँग जुधिरहेका बेला सार्वजनिक हुन लागेको बजेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण प्रभावित भएका उद्योगी व्यवसायीदेखि सर्वसाधारण जनताले बजेटबाट राहतको अपेक्षा गरेका छन्।

तर, कोरोनाका कारण राजश्व र वैदेशिक सहयोग प्रभावित भई सरकारको पति स्रोत सुकेकाले सकेसम्म खर्च घटाउनुपर्ने दवावमा सरकार छ।  सरकारले कोरोना महामारी र यसले ल्याउने आर्थिक मन्दीलाई केन्द्रीत गरेर आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको छ। विषेश गरी देशको अर्थतन्त्रको आधारका रुपमा मानिएको कृषि क्षेत्रलाई मुख्य प्राथमिता दिने संकेत नीति तथा कार्यक्रममा समेत गरिसकेको छ।

विश्वव्यापी मन्दीका कारण देशको अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने दवावमा सरकार छ। त्यसैले कृषिलाई प्राथमिकता दिएर उत्पादन बढाउने र कृषि उपजको आयात प्रतिस्थापन गर्दै निर्यात गर्ने सरकारको लक्ष्य छ। यसका लागि कृषकलाई अनुदानदेखि सहुलियत व्याजदरको कर्जा, कृषिको व्यवसायीकरण, बजारीकरण, युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम बजेटको प्राथमिकतामा पर्नेछन्।

यसैगरी कोरोनाका कारण प्रभावित हुने रेमिट्यान्स आम्दानी र वैदेशिक रोजगारीबाट फर्किने युवालाई समायोजन गर्नुपर्नेछ। यसका लागि सरकारले रोजगारी सिर्जनाका साथै युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम समेत ल्याउने बताइएको छ।

यस्तै कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई व्युताउनका लागि राहत प्याकेज समेत बजेटमार्फत नै घोषणा हुनेछ।  सरकारको आयस्रोत खुम्चीएकाले अनावश्यक खर्च घटाउनुपर्ने दवाव सरकारले छ।

अर्थमन्त्री खतिवडाले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको र चालू आर्थिक वर्षको लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको छ। आगामी वर्षका लागि खतिवडाले प्रस्तुत गर्ने बजेटको आकार १६ खर्व बराबरको हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *