अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा संक्रमित थपिए, संक्रमितको संख्या हजार नाघ्यो

डिसी नेपाल
१५ जेठ २०७७ १४:४१

काठमाडौं। बिहीबार नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा संक्रमित थपिएका छन् । बिहीबार १ दिनमा मात्रै १५६ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्याले हजार नाघेको छ र कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

पछिल्लो पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका २ जना संक्रमित देखिएका हुन् । यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जना संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जना नवलपुरका बिरामी पोजेटिभ देखिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठकाडौंमा गरिएको परीक्षणमा ७७ जना पोजेटिभ देखिएका छन् । उनीहरुमा धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना दोलखाका २ जना, सोलुखुम्बुका १ जना छन् । सुर्खेतको क्षेत्रीय प्रयोगशालामा बझाङका १ जना, सुर्खेतका १३ जना दैलेखका ८ जना पोजेटिभ देखिएका छन् ।

गण्डकीको क्षेत्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना संक्रमित देखिएका छन् । तीनै जना स्याङजामा हुन् । सेती अस्पताल ३ जना पोजेटिभ देखिएका छन् । दार्चुलाका १ जना र कैलाली २ जना संक्रमित पाइएका हुन् । किटजन्य प्रयोगशाला हेटौंडामा १ जना संक्रमित देखिएका छन् । उनी हेटौंडाकै हुन् । भेरी अस्पताल बर्दियाका ३ र बाँकेका १ जना गरी ४ जना संक्रमित भेटिएका छन् । यस्तै धुलिखेल अस्पतालमा १७ जना संक्रमित पाइएका छन् । यी सबै रौतहटका हुन् ।

यससँगै कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । यीमध्ये १ सय ८७ जना निको भएर घर फर्किएका छन् । ५ जनाको मृत्यु भएको छ । बाँकी ‘एक्टिभ केस’को रुपमा उपचार गराइरहेका छन् । अहिलेसम्म भेटिएका संक्रमितहरुमध्ये पुरुषहरु ९४० जना र महिलाहरु १०२ जना छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *