चौरजहारी घटनाका दोषीलाई कानूनी कारवाही गर्न शान्ति समाजको माग

डिसी नेपाल
१५ जेठ २०७७ १६:३२

काठमाडौं । देशका विभिन्न भागमा भएका जातीय विभेद र हिंसाका घटनाको मानवअधिकार तथा शान्ति समाजले निन्दा गरेको छ ।

जेठ १० गते रुकुमपश्चिमको चौरजहारीस्थित सोतीमा भएको दुर्दान्त घटनाले शान्ति समाज मर्माहत भएको महासचिव सुशील बस्नेतले बिहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चार जना होनहार नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको घटनाको निन्दा गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनसम्मत कारवाही गर्न शान्ति समाजले माग गरेको छ ।

दण्डहीनताको निरन्तरता र कहालीलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटना वृद्धि भइरहेको समाजले जनाएको छ । रुकुमपश्चिममा भएको घटनाका दोषीमाथि कारवाही नहुने हो भने मानवता पराजित भइ अन्याय पुरस्कृत हुने समाजको ठहर छ । रुकुमपश्चिम घटनाका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्न, दोषीलाई कानूनसम्मत कारवाही गर्न र पीडितलाई न्याय प्रदान गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसै विषयलाई लिएर समाज रुपन्देही शाखाले उच्च अदालत बुटवल बार एशोसिएसनलगायतका संस्थाको आयोजनामा आज बिहान बुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछि समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले कोणसभालाई सम्बोधन गरेका थिए ।

दिउँसो शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र काठमाडौँ शाखाको आयोजनामा जेठ १६ गते बिहान ८ बजे बौद्धमा विरोध कार्यक्रम गरिँँदैछ । यसैगरी समाजका सदस्य, दलित अगुवा र सामाजिक अभियानकर्मीको सहभागितामा जेठ १४ गते अपराह्न बुटवलमा विरोध प्रदर्शन भएको समाजले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *