विश्वकै ठूला लागूऔषध तस्करका भाइले एप्पल कम्पनीलाई हालिदिए ३ खर्ब १३ अर्बको मुद्दा
काठमाडौं। विश्वकै सबैभन्दा ठूला लागूऔषध तस्कर पाब्लो एस्कोबारका भाइ रोबर्टो एस्कोबारले आइफोनको उत्पादन गर्ने कम्पनी एप्पलविरुद्ध २.६ बिलियन डलर (३ खर्ब १३ अर्ब ३६ करोड नेपाली रुपैयाँबराबर) को मुद्दा हालिदिएका छन् । ड्रग तस्करका भाइ रोबर्टो एस्कोबारका अनुसार उनको आइफोन ह्याक भएको छ । आइफोन ह्याक भएसँगै उनलाई ज्यान मार्ने धम्कीहरु आउन थालेका छन् । धम्कीपूर्ण चिठी पनि आउन थालेका छन् ।त्यसैले उनले कम्पनीविरुद्ध मुद्दा हालेका हुन् ।
अमेरिकी वेबसाइट टिएमजेडका अनुसार रोबर्टो एस्कोबारको कानुनी पत्रमा भनिएको छ कि उनले एप्पल कम्पनीविरुद्ध उति ठूलो धनराशीको केस गरेका हुन् । ह्याकरहरुले रोबर्टोको फोन ह्याक गरेपछि फेसटाइमको प्रयोग गरेर उनको ठेगाना खोजेका छन् । त्यसपछि उनलाई धम्कीपूर्ण पत्र आउन थालेका छन् । एस्कोबारका अनुसार एप्पल कम्पनीका कर्मचारीले एप्पलको फोन विश्वकै सबैभन्दा सुरक्षित फोन भन्छन् तर उनको फोन ह्याक भएपछि एप्पलको दावी फेल भएको छ ।
एस्कोबारले यसअघि आफ्नो हत्याको प्रयास भएपछि विश्वकै सबेभन्दा सुरक्षित फोन लिएको बताएका छन् । तर, त्यो फोन पनि ह्याक भएको छ । रोबर्टोको लिगल नोटिसमा बताइएअनुसार उनको सुरक्षा नभएपछि उनी अब भूमिगत भएका छन् । अब उनले कसैको सुरक्षामा चूक गरिदिएको, गलत तरिकाले आफ्नो उत्पादनलाई प्रस्तुत गरेको र मानसिक दबाब उत्पन्न गरेको आरोपमा एप्पल कम्पनीमाथि क्षतिपूर्तिसहितको मुद्दा चलाउन माग गरेका छन् ।
Facebook Comment