लकडाउनले नछोएको आरन व्यवसायः मासिक ५० हजार आम्दानी
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ । मानिस काम नपाएर पट्यारिलो दैनिकी गुजार्न बाध्य छन् । घरभित्र थुनिएर बस्नुपर्दा आम्दानीका बाटा पनि बन्द भएका र बन्दाबन्दी खुलेपछि थपिने आर्थिक बोझले मानिस अतास्सिन थालेका छन् ।
तर म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय हर्कबहादुर विश्वकर्मालाई लकडाउन आम्दानीको सुनौलो अवसरजस्तै बनेको छ । बन्दाबन्दीका कारण शहर वा विदेशबाट गाउँ फर्किएका व्यक्ति अहिले गाउँमा कृषिकर्ममा व्यस्त छन् । बन्दाबन्दीको शुरुआत (चैत ११) देखि नै गाउँमा शुरु भएको कामको चटारो अब साउन दोस्रो सातापछि मात्र समाप्त हुन्छ ।
यी चार महिना कृषि उत्पादन र भण्डारणका लागि महत्वपूर्ण महिना मानिन्छन् । कृषिकर्मका लागि कृषकलाई औजारहरु उधिन्ने, साँध लगाउने, मर्मत वा निर्माण गर्नुपर्दछ । यी सबै कामको बोझ ५२ वर्षीय हर्कबहादुरले सहर्ष स्वीकार गर्नुभएको छ । दुईवटा खाँबाको धरन, डाँडाभाटा र बलाको भरमा टिनको छाप्रो छ । त्यही छाप्रोमा सञ्चालन गरेको हर्कबहादुरको आरन व्यवसाय आम्दानीको गतिलो माध्यम बनेको छ ।
सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेशा थालेका हुन् । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले निरन्तरता दिएको उनले बताए। टिनको छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ । “पोहोरपरारभन्दा यस वर्ष राम्रो आम्दानी भयो”, विकले भने, “लकडाउनका कारणले सबै मानिस गाउँमा आएका छन्, खेतीपाती गर्न थालेका छन्, कृषि औजार अरजाप्न र नयाँ बनाउन आउनेहरु पनि बढेका छन् ।”
मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निकै खप्पिस छन् । उनले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताए । १२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उनले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउँछन् ।
उनले काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आएका छन् भने विद्युत्को सहायताबाट तिनै फलामका सामान चम्काउने गर्छन्। आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् । विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनइ बनाउने सीप पनि छ । आरनमा बनेको खुकुरीलाई न्यूनतम रु तीन हजारदेखि आठ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एक हजार ५०० को दरले तथा थेबेलाई रु एक हजार २०० मूल्य पर्ने उनले जानकारी दिए । आरनबाट दैनिकरूपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामान बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने (अर्जाब्ने) काम पनि हुन्छ ।
गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा रु ३५ हजार कमाइ हुनेहुँदा रु २० हजार बढी अन्नपातबाटै सङ्कलन हुन्छ । एक दर्जन हँसिया अर्जाबेवापत रु ५०० तिर्नुपर्ने रेट छ । विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धानेका छन् । उनले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराले छुट्टाछुट्टै आरन चलाएका छन् । सानै उमेरमा पल्टन जाने भने पनि नगएको पीडा सुनाउँदै उनले यत्रो उमेर भइसक्दासमेत आफू अझै पोखरा नगएको बताए ।
उमेरले ५०औँ वसन्तमा घुम्दै गर्नुभएका हर्कबहादुरले फलामका साथै काठको काम गर्न पनि सिपालु हुनुहुन्छ । काठबाट बन्ने हलो, जुवा, डाँडो, लिड्को र साओ (मोही) जस्ता सामान बनाउने आफूसँग सीप रहेको उनको भनाइ छ । हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानबाट ग्राहकहरु पुग्ने गरेका छन् । परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक वनजङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन् ।
पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेवापत अन्नपात लिन्छन् ।
Facebook Comment