हरियाली बढाउन वृक्षरोपण गरिने
कास्की । पोखरा महानगरपालिकाले महानगरभित्रका सडक तथा सिमानामा रहेका गाउँपालिका केन्द्र जोड्ने सडकका दायाँबायाँ वृक्षरोपण गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा महानगरले आज एक प्रतिबद्धता सार्वजनिक गर्दै विश्व नै वातावरण प्रदूषणको चपेटामा पर्दै गएको र महानगरलाई प्रदूषणमुक्त गराउन वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी सञ्चालन गरी हरियाली बढाउन जोड दिने नीति रहेको जनाएको छ ।
‘पर्यटनका लागि जैविक विविधतायुक्त शहर’ को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानामा रहेका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम अगाडि बढाइने महानगर प्रमुख मानबहादुर जिसीले बताए।
उनका अनुसार महानगरपालिकाभित्र निर्माण हुने घरका कम्पाउण्ड तथा कौसीमा हरित बगैंँचा निर्माण गर्ने नीति अवलम्बन गरी वातावरणलाई दिगोरुपमा संरक्षण गर्न योगदान पु¥याउँदै वनस्पति उद्यान (बोटानिकल गार्डेन)हरुको विकास गरिनेछ । महानगरभित्रका कोमागाने, पुष्पलाल, वसुन्धरा, मदन–आश्रित, यशोधरा उद्यान तथा राष्ट्रिय विभूति र शहीद उद्यान आदिलाई संरक्षण र प्रवद्र्धन गरिने महानगरले जनाएको छ ।
ठूलाकोट, रानीवनलाई जैविक विविधता संरक्षणका केन्द्र बनाई प्राकृतिक चिडियाखानाका रुपमा विकास गर्ने, पञ्चासे लेकलाई सुनगाभा संरक्षण क्षेत्रका रुपमा घोषणा गरी संरक्षण गरिने, बालबालिकाका लागि मनोरञ्जन र सिर्जनात्मक प्रेरणाका लागि प्रत्येक वडामा कम्तीमा एउटा उद्यानको व्यवस्था र महानगरभित्रका नौवटै तालको संरक्षण, प्रवद्र्धन र विकास गर्ने लक्ष्य राखिएको छ ।
“जनसहभागिता, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी वन वनस्पति, ताल तलैया, खोला, नदीनाला, जलाधार व्यवस्थापनको संस्थागत विकाससहित जैविक विविधता संरक्षण गरी पर्यापर्यटनको विस्तार तथा वातावरणीय सन्तुलनसहितको दिगो विकास गर्ने नीति अवलम्बन गरिनेछ”, महानगर प्रमुख जिसीले भने ।
समुदायमा आधारित सङ्गठनमार्फत ताल तलैया, नदी खोलानालाका जलाधार क्षेत्रको एकीकृत व्यवस्थापन गरी बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, महानगरभित्र रहेका वन क्षेत्रको सौन्दर्यकरण एवं व्यवस्थापनद्वारा विभिन्न जातका फलफूलका बिरुवा रोपी त्यसलाई उत्पादकत्वसँग जोडेर पर्यापर्यटन तथा उद्यमशीलतामार्फत आय आर्जनमा जोड दिइको छ ।
जलवायु अनुकूलन तथा न्यूनीकरण योजना तयार गर्ने, महानगरभित्र रहेका पर्ति जग्गा, सार्वजनिक भवनका कम्पाउण्ड, सडक, खोला, नदी, नहरका किनारमा वृक्षरोपण गरी हरियाली प्रवद्र्धन र वन तथा वनस्पति प्रदर्शनस्थल स्थापना गरी अनुसन्धान, प्रसार तथा विकासमा महानगरले प्रतिबद्धता व्यक्त गरेको छ ।
Facebook Comment