प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मी सङ्क्रमित

डिसी नेपाल
२३ जेठ २०७७ १९:३६

सप्तरी । प्रहरी र कर्मचारीपछि शुक्रबार स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टिनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा बोदे बर्साइन स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण भेटिएको बताए । सप्तरीमा सङ्क्रमित हुने स्वास्थ्यकर्मीमा उनी पहिलो हुन् । सङ्क्रमित स्वास्थ्यकर्मीलाई शुक्रबत्रार राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा रहेको आइसोलेसन सेन्टर ल्याइएको छ ।

यसअघि यही जेठ १५ गते सोही क्वारेन्टिनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीसहित क्वारेन्टिनमा बसेका १२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि जेठ १३ गते सोही क्वारेन्टाइमा बसेका आठ जना सङ्क्रमित भएका थिए । जिल्लाको सबैभन्दा बढी सङ्क्रमित देखिएको बोदे बर्साइनमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी सहायक निरीक्षक पनि जेठ १३ गते सङ्क्रमित भएका थिए ।

क्वारेन्टिनमा खटिएका प्रहरी, कर्मचारीपछि बोदे बर्साइन–५ भाटिनका ५० वर्षीय स्वास्थ्यचौकी प्रमुखमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका अन्य स्वास्थ्यकर्मी र कर्मचारी सशङ्कित भएका हुन् । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब दुई÷दुई सातामा जाँच गर्न स्वास्थ्यकर्मीले माग गरेका छन् । जिल्लाका १८ मध्ये १२ स्थानीय तहमा सङ्क्रमण देखिएको छ ।

कोरोनासम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेको वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताए । जिल्लाका सङ्क्रमित स्थानीय तहमा सञ्चारकर्मी बिना सुरक्षा उपकरण क्वारेन्टिनमा छिर्ने, अन्तर्वार्ता लिने, भिडियो बनाउने, फोटो खिच्ने, भारतबाट आएका र सीमामा रहेकाबीच गएर समाचार सङ्कलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेका उनले बताए । जिल्लामा क्वारेन्टिनमा बसेकासँगै प्रहरी, प्रशासन, कर्मचारी, स्वास्थ्यकर्मीको पिसिआर परीक्षण हुँदै आए पनि पत्रकारको नभएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *