बाजुरामा बजार भाउ बढ्यो
बाजुरा । बन्दाबन्दी जारी रहँदा यहाँ बजार भाउ वृद्धि भएको छ । पर्याप्त मात्रमा खाद्यान्न मौज्दात रहेकाले मूल्य नबढेको विक्रेताले दाबी गरे पनि बजारमा मूल्य वृद्धि आकाशिएको उपभोक्ताले गुनासो गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा व्यापारीले खाद्यान्न पुरानै मूल्यमा बिक्री गरेको बताइरहँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परेको जनाएका छन् ।
चामल, पिठो, नुन तेलको मूल्यमा समान देखिए पनि तरकारीसहितका अन्य वस्तुको मूल्यमा रु पाँचदेखि ३० भन्दा बढीसम्म मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ । बन्दाबन्दी जारी रहँदा बजार क्षेत्रमा प्रभावकारी अनुगमन हुन नसक्दा पनि दैनिक उपभोग्य सामानको मूल्य आकाशिएको हो ।
अहिले व्यापारीले तोके अनुसार ग्राहकले सामानको मूल्य तिर्नुपर्ने बाध्यता छ । व्यापारीले मनोमानी मूल्य लिने गरेको र म्याद नाघेका सामानसमेत बिक्री गर्ने गरेको गुनासो आउने गरेको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विकले बताएका छन् ।
डिजेल पेट्रोलको मूल्य घटिरहेका समयमा जिल्लामा लिटरमा रु २० देखि ५० भन्दा बढी मूल्य तिर्नु परेको गुनासो यातायात व्यवसायीको छ । मार्तडी बाहिरका स्थानीय हाटबजारमा मेघा चामल प्रतिकेजी रु १०० तिर्न बाध्य भएका छन् । रु ५० मा प्रतिकेजी पाइने काँक्रो रु ६० देखि ८० मा बिक्री भैराखेको छ । फलफूलमा समेत रु २० देखि ६० सम्म प्रतिकेजी मूल्य बृद्धि गरी लिने गरेको पाइएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिले यसअघि बाम्का, मार्तडीलगायत बजारको अनुगमन गरी म्याद नाघेका सामान नष्ट गरेको थियो । कृत्रिम अभाव हुन नदिन प्रशासन सचेत बन्नु विद्यार्थी नेता राजीव रोकायाले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई कानूनी दायरामा ल्याउने बताए ।
Facebook Comment