न्यूजिल्याण्डमा अब कोही पनि कोरोना संक्रमित छैनन्, नाचिन् प्रधानमन्त्री
काठमाडौं। न्यूजिल्याण्डले कोरोनाभाइरसलाई पूर्ण रुपमा जितेको छ । १ हजार ५०४ जना संक्रमित रहेको न्यूजिल्याण्डले सोमबार संक्रमण शून्यमा झारेको हो । न्यूजिल्याण्डमा बाँकी रहेका अन्तिम संक्रमित २ साताअघि पोजेटिभ भेटिएकामा सोमबार नेगेटिभ रिपोर्ट आएपछि यहाँ औपचारिक रुपमा संक्रमण शून्य भएको न्यूजिल्याण्ड हेराल्डले जनाएको छ ।
न्यूजिल्याण्डमा अस्पतालमा शून्य बिरामी भने १० दिनअघि नै भएको थियो । बाँकी बिरामीमा गम्भीर लक्षण नभएकोले घरमै आइसोलेसनमा थिए । सोमबार प्रधानमन्त्री जेसिन्डा आर्डर्नले देशमा कोही पनि संक्रमित नभएको घोषणा गरिन् । देश संक्रमणमुक्त भएको घोषणा गर्दै गर्दा उनले आफू यो खबरले नाचेको समेत उल्लेख गरिन् ।
अब सरकारले सामाजिक दूरी पालना सम्बन्धी प्रतिबन्धलाई खुकुलो बनाउनेबारे छिट्टै निर्णय लिनेछ । न्युजिल्याण्डमा केही साताका लागि अत्यन्तै कडाइका साथ लकडाउन गरिएको छ । लकडाउन र सामाजिक दूरी कडाइपूर्बक पालनाले महामारी नियन्त्रणमा आउन सकेको हो । न्युजिल्याण्डमा एक हजार ५०४ जनामा संक्रमणको पुष्टि भएको थियो भने २२ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।
Facebook Comment