भिटिएम खरिद गर्दै स्थानीय तह

डिसी नेपाल
२७ जेठ २०७७ २०:३५

दमौली । तनहुँको व्यास नगरपालिकाले भिटिएम खरिद गर्ने भएको छ । क्वारेन्टिनमा रहेकाहरुको कोरोना परीक्षणका लागि भिटिएम अभाव भएपछि नगरपालिकाले आफ्नै खर्चमा भिटिएम खरिद प्रक्रिया अगाडि बढाएको हो ।

भारतबाट जिल्ला फर्किने क्रम बढेर क्वारेन्टिन भरिन लागेपछि स्वाब सङ्कलनका लागि किट अभाव भएकाले नगरपालिकाले आफैँले किट किन्न लागेको नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार दुई सय थान भिटिएम एक÷दुई दिनभित्रमा नै आइपुग्ने र भिटिएम आएपछि क्वारेन्टिनमा बसेकाको स्वाब सङ्कलनलाई तीव्रता दिइनेछ ।

“भिटिएम खरिदका लागि सबै तयारी भइसकेको छ, एक–दुई दिनभित्रै भिटिएम आइपुग्छ”, उनले भने, “आरडिटी भरपर्दो नभएकाले पिसिआर प्रविधिलाई नै प्राथमिकता दिएर स्वाब सङ्कलन गरिरहेका छौँ ।” व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा बसेका एकजना पुरुषमा कोरोना पुष्टि भएपछि उनीसँगै बसेका अन्य १५ जनाको पुनः स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरा पठाइएको छ । यसअगाडि ५४ जनाको स्वाब परीक्षण गर्दा एकजनामा कोरोना पुष्टि भएको थियो ।

आदिकविको क्वारेन्टिनमा रहेका ४६ जनाको कोरोना परीक्षण गर्न बाँकी छ । “पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाउने तयारी छ”, उनले भने, “दैलेखमा भएको घटना दोहोरिन नदिन नगरपालिका गम्भीर छ ।”

यस्तै क्वारेन्टिनमा राखिएका नागरिकको कोरोना परीक्षणका लागि म्याग्दे गाउँपालिकाले पनि भिटिएम खरिद गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले पहिलो चरणमा ३० थान भिटिएम किट खरिद गर्न लागिएको जानकारी दिए ।

गाउँपालिकाको क्वारेन्टिनमा अहिले ७० जनालाई राखिएको भए पनि १४ दिन पुग्ने क्रममा भएको सङ्ख्या ३० भएको हुँदा उनीहरुलाई परीक्षणका लागि पहिलो चरणमा ३० थान पिसिआर किट खरिद गर्ने प्रक्रिया शुरु भइसकेको उनले जानकारी दिए।

गाउँपालिकाले सबै वडामा क्वारेन्टिन निर्माण गरी विदेशबाट आउने नागरिकलाई सम्बन्धित वडाकै क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएको छ । नागिलाका अनुसार क्वारेन्टिनमा बस्ने सबैलाई प्रतिदिन रु तीन सय ६५ का दरले खाना र खाजाको व्यवस्था गरिएको छ ।

भानु नगरपालिकाले एक सय थान भिटिएम खरिद गरेर ल्याइसकेको छ । नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले क्वारेन्टिनमा सङ्ख्या वृद्धि हुने क्रम बढ्ने तथा कोरोना परीक्षणका लागि किट अभाव हुने अवस्था आएपछि नगरपालिका आफँैले भिटिएम खरिद गरेर ल्याएको जानकारी दिए। “अहिलेको अवस्थामा प्रदेश र सङ्घ सरकारको मात्रै मुख ताक्नुभन्दा पनि स्थानीय सरकार आफैँ क्रियाशील भएर किट खरिद गरेका हाँै”, उनले भने ।

भिटिएम खरिद गरेर ल्याउने बित्तिकै नगरपालिकाले भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका २३ जनाको आइतबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले पनि भिटिएम खरिद गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *