अलपत्र कामदार फर्काउने प्रस्ताव गर्नासाथ ताते प्रधानमन्त्री
काठमाडौं । महिनौंदेखि लगाइएको लकडाउन हटाउनेबारे निर्णय गर्न बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो बनाउने निर्णय भइसकेपछि विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउने विषय छलफल भएको थियो।
समाचारअनुुसार, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा नेपालीहरु अलपत्र परी कठिन अवस्थामा पुगेको कुरा उठाउँदै सकेसम्म चाँडो उनीहरुको उद्धार गर्नुपर्ने धारणा राखेका थिए। उनको प्रस्तावले शुरुमा प्रधानमन्त्री उत्तेजित भएका थिए।
प्रधानमन्त्री ओली तत्काल विदेशबाट ठूलो संख्यामा नेपालीहरुलाई स्वदेश ल्याउँदा कोरोना भाइरसको माहामारी रोकिनसक्नु गरी बढ्छ भन्ने धारणा राख्दै आएका छन्।
‘विदेशमा भएका कामदार ल्याउने तर नल्याइ नहुने मात्रै भन्ने प्रधानमन्त्रीको धारणा छ,’ डिसी नेपालसँग कुरा गर्दै एक मन्त्रीले भने,‘प्रधानमन्त्रीज्यू श्रममन्त्रीसँग शुरुमा खनिनु भयो, विदेशबाट नेपाली फर्काउन कोरोना वाधक भएको उहाँको धारणा थियो।’ कोरोनाकै कारण रोजगारी गुमेर हजारौं हजार नेपालीहरु खाडी मुलुकहरु तथा मलेसिया, माल्दिभ्स र युरोपको माल्टासमेतमा अलपत्र परेका छन्।
स्राेतका अनुसार प्रधानमन्त्रीले कामदारको कुरा उठाउने मन्त्री यादवलाई ‘तपाईंलाई २ नं प्रदेशको जिम्मेवारी दिएको के गर्नु भो ?’ भनी बैठकमै हप्काएका थिए। यसको जवाफ दिन नभ्याएका मन्त्री यादवलाई फेरि प्रधानमन्त्रीले निर्देशन दिए, ‘परराष्ट्रमन्त्रीसँग बसेर कामदारको समस्या समाधानको उपाय निकाल्नुुहोस्।’
प्रधानमन्त्रीले शिक्षा मन्त्री गिरिराजमणि पोख्रेललाई पनि डिजिटलाइज्ड गरेर असार १ देखि पढाइ संचालन गर्ने योजनासहित तयार रहन भनेका थिए । पुस्तक पसलहरु खोल्न दिने ब्यबस्थापन कस्तो हुनुपर्छ त्यसको कार्ययोजना बनाउनेतर्फ उनले मन्त्रीलाई सजग गराएका थिए।
बैठकका आफ्नो सरकारलाई कांग्रेसले योजनाबद्ध रुपमा भ्रष्टाचारको आरोप लगाएकोमा आक्रोश पोखेका थिए। उनले कांग्रेसको आरोपसँग नडराउन तर इमान्दारीपूर्वक काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए।
बुधवार दिउँसो संसदमा नेपाली खानबारे विशेषज्ञले झैं बोलेका प्रधानमन्त्री ओलीले साँझको मन्त्रिपरिषद्को बैठकमा पनि लगातार २ घण्टाभन्दा बढी एक्लै बोलेका थिए।
बेलुका ६.३०बजे शुरु भएको बैठक ९.४५ मा सकियो । बैठकमा प्रधानमन्त्रीले अहिले लकडाउनको विरोध गर्नेहरुप्रति पनि आक्रोस पोखेका थिए। ‘अहिले लकडाउनको बिरोध गर्नेले यदि लकडाउन नगरेको भए झन् उग्र विरोध गर्थे’ भन्ने प्रधानमन्त्रीको धारणा थियो ।
Facebook Comment