राजा महेन्द्र, वीरेन्द्र र प्रधानमन्त्री ओलीमाथि श्याम शरणको प्रहार, तथ्य बङग्याउने दुष्प्रयास !

डिसी नेपाल
३० जेठ २०७७ १२:२७

काठमाडौं। भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरणले नेपाल–भारत सीमाका विषयमा ऐतिहासिक तथ्यहरु बङ्ग्याएर नेपालका तत्कालीन राजाहरु श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गर्ने दुष्प्रयास गरेका छन् । यतिमात्र होइन उनले दिवंगत प्रधानमन्त्री किर्तिनिधि विष्टलाई समेत गलत तथ्यमा मुछ्ने दुष्प्रयास गरेका छन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपालका भूभागलाई भारतीय भएको दावी गर्दै द इण्डियन एक्सप्रेसमा एक लेख प्रकाशित गरेका छन् । लेखमा उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ‘भारतसँग छिटै वार्ता सुरु गर्न लागेको र कूटनैतिक रुपमा समस्या समाधान गर्ने’ भनाइलाई ‘औचित्यहीन’ भनेका छन् । उनले नेपालले एकतर्फी रुपमा यी क्षेत्र आफ्नो भएको दावी गरेको भन्दै भारतलाई जबरजस्ती स्वीकार गर्न लगाइएकोले कूटनीतिको अर्थ नहुने तर्क गरेका छन् ।

यद्यपि उनको यो तर्क सही होइन । भारतलाई नेपालले पटक पटक यस विषयमा वार्ता गर्न ताकेता गरिरहँदा भारतले बेवास्ता गरेपछि नेपालले नयाँ नक्सा जारी गर्नुपरेको हो । नेपालले ताकेता गरिरहँदा नेपालसँग वार्ता गर्न आनाकानी गर्दै आएको भारतले यही बीचमा अस्ट्रेलियासँग प्रधानमन्त्रीस्तरीय भर्चुअल वार्ता गरेर सम्झौता समेत गरिसकेको छ भने चीनसँग सैन्य कमाण्डर स्तरीय वार्ता प्रत्यक्ष भेटेरै गरिरहेको छ । तर, नेपालसँग वार्ता गर्नको लागि भने उसले कोभिड–१९ महामारीको बहाना बनाउँदै महामारी सकिएपछि वार्ता गर्ने बहानामा टार्दै आइरहेको छ ।

श्याम शरणले १८१६ मा ब्रिटिश इण्डियाको इष्ट इण्डिया कम्पनीले काली नदीको मुहान लिम्पियाधुरालाई मानेको तथ्यलाई समेत ढाकछोप गर्ने प्रयास गरेका छन् । यसका लागि उनले अर्को एउटा नक्सालाई हतियार बनाएका छन् । १८७९ मा बनेको यो नक्सामा काली नदीको मुहान कालापानीमा भएको उनले दावी गरेका छन् । काली नदीको लिम्पियाधुरास्थित मुहानबाट आउने काली नदीलाई उनले पानी बग्ने सानो कुलो भन्दै त्यो कुलो कालापानीबाट आएको काली नदीमा मिसिने तर्क गरेका छन् ।

उनले राजा महेन्द्रले नेपाली भूमि कालापानीमा भारतलाई सुरक्षा पोस्ट राख्न दिएको कुरालाई पनि झुटो भनेका छन् । १९६९ मा तत्कालीन नेपाली प्रधानमन्त्री किर्तिनिधि बिष्टले राजा महेन्द्रको आदेशमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई नेपालको भूभागभित्र रहेका भारतीय सुरक्षा पोस्टहरु हटाउन भनेका थिए । त्यपछि भारतले सुरक्षा पोस्टहरु हटाएको भए पनि कालापानीको पोस्ट हटाएको थिएन । उनले भने लेखमा नेपालले दिएको सूचीमा कालापानीको पोस्ट हुँदै नभएको जिकिर गरेका छन् ।

कालापानीको पोस्ट राजा महेन्द्रले नै भारतलाई राख्न अनुमति दिएका थिए । भारतको सुरक्षा संवेदनशीलतालाई हेर्दै राजा महेन्द्रले कालापानीमा पोस्ट राख्न दिएको कुरालाई उनले हास्यास्पद भनेका छन् । उनले त्यतिबेला चीनमा सांस्कृतिक क्रान्ति भइरहेकोले सीमा क्षेत्रमा धेरै गतिविधि नभएको भन्दै यो पोस्ट राख्न दिइराख्नुपर्ने जरुरी नभएको तर्क गरेका छन् । उनले राजा महेन्द्रसँगै राजा वीरेन्द्रलाई समेत यो विवादमा तानेका छन् । उनले नेपाली राजाहरु यस विषयमा कुरा गर्न अनिच्छुक भएको कुरा सही नभएको तर्क गर्दै दुवै राजाहरु नेपालमा भारतविरोधी राष्ट्रियताको आडमा टिकेको दावी गरेका छन् ।

स्मरणीय छ श्याम शरण तिनै कुख्यात पात्र हुन् जसले नेपालबाट राजतन्त्र फाल्न मुख्य भूमिका खेलेको मानिन्छ । उनी सन् २००२ देखि २००४ सम्म नेपालका राजदूत दिए जतिबेला राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेको एक वर्ष मात्र भएको थियो र देशैभरी उनीविरुद्ध आक्रोशको वातारण थियो । माओवादी जनयुद्ध समेत उत्कर्षमा रहेका बेला दलहरु र माओवादीलाई मिलाएर राजतन्त्र अन्त्य गर्नको लागि उनले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । यहाँनिर सम्झिनुपर्ने अर्को कुरा के पनि हो भने राजतन्त्र अन्त्य गर्ने गरी भएको १२ बुँदे सहमति भारतमै भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *