क्षमताभन्दा दोब्बर कैदीबन्दी

डिसी नेपाल
३० जेठ २०७७ १६:१५

झिमरुक । प्यूठान कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्दै आएका छन् । कारागार भवनमा २५ कैदीबन्दी अटाउने क्षमता भएपनि हाल ५३ पुरुष र सात महिला गरी कूल ६० जना कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था रहेको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीको सङ्ख्या बढ्दै गए पनि सोहि अनुसार कारागारको व्यवस्थापन हुनसकेको नसकेको कारागार प्रमुख सूर्यबहादुर पन्तले बताए । राणाकालमा घोडा राख्ने तबेलाको ठाउँलाई कारागारका रूपमा प्रयोजनमा ल्याइए पनि अहिलेसम्म आवश्यक सुधार हुनसकेको छैन । बन्दाबन्दीका अवधिमा तीन कैदी जबर्जस्ती करणी उद्योगमा थपिएको र एक रिहा भएको कार्यालय प्रमुख पन्तले बताए।

भौतिक पूर्वाधारको अभावमा कैदीबन्दी राख्न समस्या परेको उनले बताए । कारागार व्यवस्थापनका लागि शौचालय, प्रहरी ब्यारेकसहित दुई कोठाको नयाँ भवन निर्माण हँुदैछ । कैदीबन्दीको समस्यालाई ध्यानमा राख्दै कारागारको अवस्थाबारे पटक–पटक माग गरेर पठाएपछि नयाँ भवनका लागि बजेट आएपश्चात भवन निर्माणको काम शुरु भएको हो । रु ८५ लाख बजेटमा भवन निर्माणको काम भइरहेको कार्यालय प्रमुख पन्तले बताए । त्यस्तै कार्यालयको नयाँ भवन निर्माणका लागि मल्लरानी गाउँपालिका वडा नं ४ बुढाचौरमा १० रोपनी जग्गा उपलब्ध भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *