त्यो बेला यसरी पढाइन्थ्यो पूर्वको आठराईमा

डिसी नेपाल
३१ जेठ २०७७ ९:४१

लिम्बूवान राज्यलाई (अरुण नदीपूर्व र मेची नदीपश्चिम, विजयपुर उत्तर र तिब्बतको दक्षीणमा जोडिएको साथै पूर्वोत्तर कन्चनजंगा हिमाल र सिक्किमको सिमाना सम्म जोडिएको भूभाग)नेपाल राज्यमा एकिकृत गराइएका समयमा सो लिम्बूवान राज्यमा निम्न लिखित नाम गरिएका १७ थुमहरु प्रशासनिक इकाइका रुपमा रहेका थिए ।

(१) सँखुवा उत्तर (२) सबाया (३) चौबिसे (४) छथर

(५) फेदाप (६) आठराई (७) मेवा खोला (८) मैवा खोला (९) तमोर खोला (१०) खाल्सा( सोह्र खाल्सा) ( ११) पाँच खपन (१२) दश मझिया
(१३) याङरुप (१४) पान्थर (१५) इलाम फाकफोक (१६) झल्हरा(बेल्हरा) (१७) मिकलङ पाहाड । पछि नेपाल सरकारद्वारा त्यस भूभागलाई पल्लो किराँत नामाकरण गरिएको थियो ।

शुरुशुरुमा अमाली सुब्वा, जिम्बावाल, थरी, मुखियाआदि पद कायम गरी प्रशासनिक एवं सामाजिक व्यबस्था कायम गरिएको र समयक्रममा सो इलाका धन्कुटा, चैनपुर, तेह्रथुम, ताप्लेजुङ, ओलाङचुङगोला, फिदिम, च्याङथापु, इलाम, झापा, विजयपुरआदि स्थानहरुमा सरकारी कार्यालयहरु स्थापना गरी प्रशासनिक व्यबस्था मिलाइएको पाइन्छ ।

सर्वसाधारण जनताका निमित्त विकास निर्माण एवं सामाजिक सेवाका निमित्त कुनै प्रकारका योजनाहरु थिएनन् । एकप्रकारले जंगली अबस्थामा थियो समाज । पशुपालन र कृषि व्यबसायमात्र जीवन जिउने आधार थिए ।

लिम्बूहरुको राज्य भएको हुँदा जनसँख्यामा उनीहरुको बाहुल्यता हुने नै भयो । सत्रै थुमका सम्पूर्णै गाउँहरुमा लिम्बूजातिको बसोबासो थियो । गाउँभित्रका साना साना गाउँमा भने कतै कतै मात्र लिम्बूहरु अल्पमतमा हुन्थे । तर कतिपय एकाध ठूलै गाउँहरुमा भने बाहुन छेत्री अर्थात तागाधारी सम्प्रदायका मानिसहरुको पनि बाहुल्यता थियो ।

२००७ सालको जनक्रान्तिले पूर्वी नेपालको जनसमाजमा ठूलै हलचल पैदा गरायो । समाज एकप्रकारले हरेक कार्यका लागि आतुर भएकोजस्तो देखिन्थ्यो तर के गर्ने के नगर्ने, के शुरु गर्ने के नगर्ने ? एक प्रकारको अन्यौलको बातावरण उत्पन्न भएको थियो ।

१७ थुमहरुमध्ये सायद आठराईमात्र यस्तो थुम थियो होला जाहाँ मतवाली जातिहरु भन्दा तागाधारी जातिहरुको जनसँख्या धेरै थियो । लिम्बू समुदायभन्दा बाहुन समुदाय नै आर्थिकरुपमा धेरै सम्पन्न थिए भने प्रशासनिक पक्ष पनि बाहुन बर्गकै बलियो थियो ।

बायाँबाट क्रमशः राजनारायण प्रधान, धरणीधर न्यौपाने र कुलप्रसाद राई

आठराईका प्रसाई, थपलिया, उप्रेती, मैनाली, ओली ,विमली ,चुडाल, भट्टराई, सिटौलाहरु ताप्लेजुङ, तेह्रथुम र धनकुटा गौँडाका सरकारी कार्यालयलगायत काठमाण्डूसम्म आफ्नो सम्पर्क कायम राख्न लिम्बूहरुभन्दा अगाडि थिए । जसले गर्दा लिम्बू समुदायमा प्रशासनिक दबाव बनाइराख्न बाहुनहरुलाई सहज वातावरण बनेको थियो ।

०७ सालमा प्रजातन्त्रको नामबाट आठराईमा लिम्बूहरुले बाहुनहरुको धनसम्पति लुटपाट गरेर भगाएका थिए । बास्तवमा आठराईमा लुटपाट मच्चाउने अधिकांश लिम्बूहरु फेदाप थुमबाट आएका थिए । लिम्बूद्वारा गरिएको लुटपाटको क्षेत्री वाहुनद्वारा प्रतिकार नगरिएको हुँदा मानिसको ज्यानको नोक्सान भने भएन । मानिसको जिउ ज्यानको क्षति नभएका कारणले गर्दा प्रजातन्त्रको घोषणापश्चात गाउँमा शान्ति कायम गर्न निकै सहज भएको थियो ।

जातपात छुवाछुत धनी गरीव जातीय भेदभाव, धार्मिक अन्धविश्वास, चर्को व्याजको साहूकारी प्रचलन आदि प्रथाले समाज आक्रान्त थियो । यो सब हुनाको एकमात्र कारण शिक्षाको अभावले गर्दा नै हो भन्नेकुरा आठराईका केही समाजसेवी व्यक्तिहरुले बुझेका थिए ।

वि.सं.१९८० को दशकको सुरुवातदेखि नै आठराईका अलि सम्पन्न व्यक्तिहरुले आफ्ना एकाध छोराहरुलाई भारतको बनारस, कानपुर, इलाहाबाद, दार्जिलिंग र नेपाल(काठमाण्डू )मा अध्ययनका लागि पठाउने गरेको पाइन्छ । सारांशमा भन्नु पर्दा आठराईका मानिसहरुमा भित्र भित्रै शिक्षाप्रतिको भोक जागिसकेको थियो ।

सिटौलाले तमोर नदीमा पुल निर्माण गरेपश्चात आठराई मुल्पानीमा वि.सं १९८१ सालमा स्थापना गरिएको भाषा पाठशाला आठराईको शिक्षा क्षेत्रको प्रस्थान विन्दु थियो ।

यसै भाषा पाठशालाको आडमा आठराईका केही गाउँहरुमा प्रत्येक बर्ष हिउँदको समयमा कार्तिक महिनादेखि माघ महिनासम्म हिउँदे पाठशाला सन्चालन गरी साउँअक्षर पढाइन्थ्यो । यस्ता पाठशालाहरुले गर्दा आठराईमा शिक्षाको क्षेत्रमा सामान्य रुपमा हलचल भई नै रहन्थ्यो ।

यसैक्रममा २००२ सालमा समाजसेवी समाज सुधारक एवम् शिक्षाप्रेमी हरिचरण सिटौलाले आफ्नै घरछेउमा सानो टहरो बनाई प्राथमिक पाठशाला सुरु गरे तर राणा सरकारले स्वीकृति नदिएर बन्द गर्नु पर्ने अबस्था आई परेको समयमा २००७ सालको जनक्रान्तिले ल्याएको परिबर्तनका कारण सोही पाठशालाले २००८ सालमा शारदा मिडिल स्कुलका नामबाट माथिल्लो चुहाण्डाँडाको लाम्चे डाँडामा स्थानान्तरित भई आठराईको पहिलो मिडिल स्कुल हुने सौभाग्य प्राप्त गर्यो । यसपछि समग्र आठराईमा २०२२ सालसम्म अन्य धेरै प्राइमरी, मिडिल, हाई स्कुल र ईन्टर कलेजको स्थापनाले आठराई पूर्वान्चलको समग्र पाहाडी क्षेत्रमा शिक्षाको केन्द्रस्थल बन्न पुगेको थियो ।

आठराईको सो गौरवशाली विद्यालयको संस्थापक प्रधान अध्यापक हुनुहुन्थ्यो आठराई चुहाण्डाँडा खाल्डे निवासी पण्डित श्री धरणीधर न्यौपाने । वाँहाले मुल्पानीको भाषा पाठशालामा संस्कृत भाषाको अध्ययन गरी पछि काठमाण्डू र बनारसमा अध्ययन गरी संस्कृत भाषामा प्रथम श्रेणीमा आचार्य पास गर्नु भएको थियो । अहिले वाहाँ सुनसरी जिल्लाको ईटहरी नगरपालिकामा छोरा मोहन न्यौपानेका साथमा आरामसँग लेखनमा कृयाशील रही १०१ बर्ष उमेरको गौरवशाली जीवन बिताइरहनु भएको पाउँदा वाहाँका हजारौँ विद्यार्थीहरु अत्यन्तै खुशी हुँदै पूज्य गुरुको स्वस्थ्य एवँ दीर्घायु जीवनको कामना गरिरहेका छौँ । एवँ प्रकारले शारदा हाई स्कुलका सँस्थापक हेडमाष्टर श्री कुलप्रसाद राई बर्तमान समयमा झापा जिल्ला बिर्तामोड नगरपालिकामा लगभग ९० बर्ष उमेरको गौरवशाली सकृय जीवन बिताइरहनु भएको छ । हामी वाँहाका सयौँ विद्यार्थीहरु वाहाँको स्वस्थ्य एवँ दीर्घ जीवनको लागि शुभकामना व्यक्त गर्दछौँ ।

स्कुलमा सरहरुले विद्यार्थीहरुको पढाइका साथ साथै अनुशासनमा पनि उत्तिकै ध्यान पुर्याएका थिए । हरेक शिक्षकका हातमा शिक्षकको चिन्हका रुपमा बाँसको सानो छडी हुन्थ्यो । कक्षामा पाठ बुझाउन नसक्ता, होमवर्क नगर्दा क्लासमा ढिलो आउँदा कक्षामा हल्ला गर्दा कपाल नकोरे, नङ नकाटे, दाँत नमाझे, कान र घाँटीमा मयल भए, लुगा मैला भए छडीले हिर्काउने, बेन्चमाथि उभ्याउने टाङमुनिबाट हात छिराएर कान समाउन लगाउने एक खुट्टाले टेकेर उभिरहनु पर्ने टिफिनको छुट्टीका समयमा कक्षाभित्रै बसेर पाठ आउँदो पार्नु पर्ने, कान र कन्सिरीको कपाल तान्ने, कान समाएर धेरै पटक उठबस गर्नु पर्ने, एकले अर्काको कान सकेसम्म तान्नु पर्ने, हातका औँलाका वीचमा पेन्सिल राखेर औँला समाएर जोडले च्यापिदिने, हरेक आइतबार क्लासमा जानु पहिले नुहाएको छ छैन भनेर हात खुट्टा कान घाँटीको चेकजाँच हुन्थ्यो । नुहाएको पाइएन भने स्कुलको चौकिदारसँग हिटीमा गएर नुहाउनु पथ्र्यो । नियमितरुपमा पालैसँग आआफ्नो कक्षाकोठा बढार्नु पथ्र्याे भने कहिले कहिले कक्षाकोठा गोबरले लिपपोत पनि गर्नु पथ्र्याे ।

विद्यार्थीलाई पिट्नु, कुट्नु वा अन्य कुनै पनि प्रकारका सजाय दिन पाउने माष्टरहरुको बिशेष अधिकार नै हुन्थ्यो । माष्टरको आज्ञा नमान्ने विद्यार्थीलाई कतिपय माष्टरले त विद्यार्थीका घर घरमै गएर पनि पिटेका थिए ।

स्कुलमा अनुशासन कायम गर्नु गराउनु माष्टरको कर्तव्य हो भन्ने बारेमा शारदा हाई स्कुलका हेडमाष्टर कुल प्रसाद राई( चाम्लिङ) ले “हरिचरण सिटौलाको सुकीर्ति” नामक पुस्तकमा दूरदर्शी र कुशल संगठक शीर्षकमा लेखेका छन् “विद्यार्थीलगायत अभिभावकहरुलाई पनि शिष्टाचार ( Etiquette)र अनुशासन सिकाउँदै लानु मेरो प्रथम कार्य भयो । मूड ठीक नरहेको दिन अलिक बढ्ता कडाइ पनि गरेँहुँला । निश्चयनै म अलिक छुच्चो हुन बाध्य भएँ ।”

यसबाट पनि छर्लंग हुन्छ कि त्यस बखतका स्कुलहरुमा विद्यार्थीहरुलाई अनुशासनमा राख्न निकै कठोर व्यबहार अपनाइन्थ्यो । तर अहिले उसबेलाको जस्तो सजायको विधि अवलम्बन गर्न पाईँदैन ।

२०१४ सालमा शारदा हाई स्कुलबाट एसएलसीको परीक्षामा प्रथम पटक विष्णुप्रसाद सिटौला र जगन्नाथ थपलिया सम्मिलित भएका थिए । यस अतिरिक्त आठराईका अन्य तीनवटा त्रीमोहन हाई स्कुल, मुल्पानी, पोखरी हाई स्कुल , पोखरी र सरस्वती हाई स्कुल, हाङपाङबाट समेत गरी २०२२ साल सम्ममा १५० जति (अनुमानित सँख्या)विद्यार्थीहरुले एसएलसीको परीक्षा पास गरेका थिए होलान् । सो समयमा आठराईका यी चारवटा हाई स्कुलबीच पढाइका अतिरिक्त अन्य विविध कृयाकलापमा स्वस्थ एवँ रचनात्मक प्रतिस्पर्धा हुने गर्दथ्यो ।

“हामी चुहानडाँडा र पोखरी स्कुलका शिक्षकहरुको एउटा राम्रो शैक्षिक, बौद्धिक, सांस्कृतिक र खेलकुदको राम्रो समुदाय बनेको थियो । साथसाथै मुलपानी र अन्य ठाउँका शिक्षकहरुसित पनि विविध कार्यक्रमगत सम्पर्कको व्यापकता बढेको थियो । बीरेन्द्र इन्टर कलेजका प्रोफेसर राजनारायण प्रधानले पछि आठराइका मेरा दिन शीर्षकमा हरिचरण सिटौलाको सुकीर्ति ग्रन्थमा लेखेका छन्—“यही समुदायलगायत अन्य प्रबुद्ध स्थानीय समाजसेवीहरुको संयुक्त प्रयासमा ‘शिक्षा समिति आठराई’ भन्ने एउटा संस्थाको स्थापना गरी विभिन्न अन्तरस्कुल र कलेजलगायतका गरी शैक्षिक, खेलकुद, सांस्कृतिक आदि कार्यक्रमहरु प्रतियोगितात्मक रूपमा गराउने गर्दथ्यौं ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *