कथाः यो नक्शा होइन
सजला सैलानी दिनभरी चिन्तित थिई । राति ओछ्यानमा उसलाई निद्रा परेन । उसले यति मात्र भनेकी थिई छोरालाई, ‘बाबु, अब तिम्रो बिहे गर्नुपर्छ । मानसिक रुपले तिमी तत्पर होऊ है ।’
‘छिमेकीलाई सोध्नु भयो त आमा?’ शैलेशसागरले आमालाई एउटै प्रश्न गर्यो । यस प्रश्नले उसलाई आहत बनायो । उ स्वयं यो अनुभव गर्दै रही ।
शैलेशसागरको बिहे भयो । दुलही लिएर आए । भोज चल्यो, नाचगान भयो, रमाइलो भो । अतिथि इष्टमित्र फर्कदैं गए । शैलेशका पाँच–सातजना साथी अझै खानपिनमा जुटेका थिए । समय बित्दै थियो ।
‘भाइ यसबेला कहाँ जान लागेका ?’ दिदीले प्रश्न गरिन् ।
‘शैलेश अझै तिमीले लुगा नफेरेको ? असजिलो भएन ?’ काकीले सोधिन् । ‘बाबु, द्ुलहीलाई एक्लै छाडेर ननिस्क फर्क कोठामा जाऊ’ सजलाले भनिन् । उनको भनाइमा मातृभाको अधिकार पनि झल्किन्थ्यो । ‘हो सुहाग शैयाबाट निस्कने बेला होइन यो । केही चाहिए भन, तर दुलही नछाड कहाँ जान लागेको तिमी यसबेला ।’
उसंग संवाद गर्नेका आँखा एकपटक हेर्यो र टाढा नजर प्ुर्याएर भन्यो, ‘म छिमेकीलाई सोधेर आउँछु है । एकैछिन फर्कीहाल्छु ।’ सजलाका मनमा चिसो पस्यो । उनले गुनिन्–‘आफ्नो कुरा, आफ्नी व्यौलीको कुरा, सुहाग रातको कुरा, कोठाको कुरा, आफ्नो घरको कुरा के मतलब छ छिमेकीलाई ? के सोध्नुपर्छ छिमेकीलाई ? के सोध्ने ? आफ्नी व्यौलीसँग सुहागरात मनाउँ कि नमनाउँ ? त्यसको अधिकार छ कि छैन भनेर सोध्ने ? पागल !’ सजला कु्रद्ध भइन् । थपिन्– ‘बिहेलाई राजनीति नबनाऊ । यो नक्सा होइन ।’
विहे घरको यो परिवेश अलिक अशान्त, अलिक कोलाहलमय र नसुहाउने देखेर साथीहरु आफ्नो ठाउँबाट उठेर आए– पप्लु खेल्न बिसाएर । अनि परिस्थितिलाई अझ उत्तेजित बनाउँदै थपे –
‘हे, मुला प्रतिगामी कुरा नगर । प्रगतिशील हुने कोशिस गर !
हो, प्रगतिशील हुनुपर्छ, परम्परावादी न हो ।’
‘मतलब ?’
‘मतलब यही कि आफ्नी श्रीमतीसँग आफैले सुहागरात मनाउने चलन पुरानो हो । त्यो परम्परावादी चलन हो । प्रतिगामीहरु मात्रै आफ्नी श्रीमतीसँग सुहागरात मनाउँछन् । भनौ भने जुन विधिले तिम्रो बिहे भयो नि, त्यो पनि प्रगतिशील थिएन ।’
‘हो नि, सजातीय, सवर्गीय, गोत्र हेर्ने, नाता जोगाउने कुरा पनि प्रतिगामी तत्व नै हुन् । हामीले नयाँ कुरा, नयाँ रास्ता र नयाँ सोच राखेर अगाडि बढ्नुपर्छ ।’
‘अब व्यौलीसँग सुहागरात कसले मनाउने त?’ वाकयुद्ध भयो यिनीहरुमा । फेरि मल्ल युद्ध सुरु भयो । जुडो र कराँते चल्यो । भागाभाग भयो । आश्चर्य कसैले पनि मुख खोलेन । फेरि श्मशान शान्ति छायो ।
चाल मारेर विजेता साँढे व्यौलीको सुहाग कक्षमा प्रवेश गर्यो । चाल मारेर, आततायी मुद्रा देखाएर ।
एकछिनपछि बत्ती र साइरनसँगै प्रहरी शक्ति पुग्यो । पुलिस सुहाग कक्षमा पुग्दा व्यौली एउटा हातमा फोन र अर्को हातमा रगतले पोतिएको खुकुरीसँगै उभिएकी थिई । एउटा जवान शरीर मरणासन्न अवस्थामा रक्त–रञ्जित थियो गलैँचामाथि ।
आमा छोरा अर्थात सजला र शैलेश तासको खालमा लखतरान थिए । कलहको आगो कहिले सल्क्यो र कसरी निभ्न पुग्यो भन्ने सत्य प्रहरीले खोल्न चाहेन । मुद्दा राजनीति प्लस थियो । किन्तु खोज पत्रकारिता र कूट पत्रकारिताले अथ र इतिको इतिहास खोलिदियो ।
Facebook Comment