पहिराले खानेपानीको मुहान पुरियो

डिसी नेपाल
३१ जेठ २०७७ १७:५०

म्याग्दी । मालिका गाउँपालिका–४ सिस्नेरीमा पहिराले मुहान पुरेपछि खानेपानीको हाहाकार भएको छ । बन्दरमूल खानेपानी आयोजनाको महखोलास्थित मुहान शुक्रबार राति वर्षापछि खसेको पहिराले पुरिएको हो । पहिराले मुहान पुरिएपछि २६ घरधुरीमा खानेपानीको अभाव भएको उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले बताए ।

“गाउँमा अन्य खानेपानीको स्रोत छैन”, उनले भने, “मुहान पुरिएपछि खानेपानीको हाहाकार भएको छ ।” निरन्तर खसिरहेको पहिराले डुण्डुरको अर्को पाइप पनि बगाएको छ । दुई वर्षअघि मालिका गाउँपालिकाअन्तर्गत सञ्चालित पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत करिब रु ३० लाखको लागतमा आयोजना निर्माण भएको थियो । निजी धारामार्फत घरघरमा खानेपानी वितरण गरिएको थियो ।

धारामा पानी आउन छाडेपछि मानिसलाई उपभोग गर्न, सरसफाइ, नुहाउन, कपडा धुन र गाईबस्तुलाई खुवाउन समस्या भएको छ । आयोजना मर्मत र वैकल्पिक व्यवस्थाका लागि वडा र गाउँपालिका कार्यालयमा अनुरोध गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *