कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

डिसी नेपाल
३१ जेठ २०७७ १९:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका छन् । हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ बाराका पाँच वर्षीय बालकको मृत्यु भएको हो ।

यही जेठ २८ गते पर्सामा एक पुरुषको शव भेटिएको थियो । नारायण्ी अस्पताल वीरगञ्जमा शव परीक्षणका क्रममा स्वाब सङ्कलन गरिएको र सोही अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए।

यस्तै डिस्चार्ज हुनेको सङ्ख्या भने ३६ पुगेको छ । हालसम्म ९१३ जना डिस्चार्ज भएका छन् । त्यसमा ८२२ पुरुष र ९१ महिला रहेका छन् । निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । निमोनिया भएका ती बालकको आरडिटी र पिसिआर दुवै परीक्षण गर्दा दुवैमा पोजेटिभ देखिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख २७ हजार २८८ पुगेको छ । यस्तै आरडिटी परीक्षणको सङ्ख्या एक लाख ९० हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा आरडिटी परीक्षण मात्रै दुई हजार ५२० को गरिएको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९७ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *