पर्वतकाे पहिरोमा पुरिएका मध्ये ६ जनाको शव फेला, तीनको खोजी जारी

डिसी नेपाल
३२ जेठ २०७७ १३:०८

पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन्।

घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो।

थप तीन जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन्।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए। बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो। पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन्। स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *