युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश

काठमाडौं । इटालियन क्लब युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा १० खेलाडीमा सीमित एसी मिलानसँग युभेन्टस गोलरहित बराबरीमा रोकियो । तापनि युभेन्टस अवे गोलको आधारमा फाइनलमा पुग्न सफल भएको हो ।
फेब्रुअरीमा भएको पहिलो लिगको खेल १–१ को बराबरीमा सकिए संगै इटालीमा तीन महिनापछि फुटबल फर्किएको छ । युभेन्टसको मैदान एलियन्ज एरिनामा दर्शकबिना भएको खेलको १५औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रिय कोन्टीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै पेनाल्टी दिएका थिए ।
तर, रोनाल्डोले पेनाल्टीमा गोल चुक्दा युभेन्टसले खेलमा अग्रता लिन चुक्यो । रोनाल्डोको प्रहार पोस्टमा लाग्दै मैदानमै फर्किएको थियो । अग्रता लिन चुकेपानी केहीबेरमा नै युभेन्टसले केही राहत पायो । रोनाल्डोको पेनाल्टी प्रहार फर्केको बलमा एसी मिलानले काउन्टर एट्याक गर्ने क्रममा एन्टी रेविकले युभेन्टसका डिफेन्डर ड्यानिलोमाथि डरलाग्दो फल प्रहार गर्दा रेफ्रीले सिधै रातो कार्ड देखाए ।
२३औं मिनेटमा रोनाल्डोको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरियो । ३१औं मिनेटमा फ्रान्सेली मिडफिल्डर ब्लेस माटुइडीले उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र नजिकबाट गरेको प्रहार गोलरक्षकले विफल पारिदिए । पहिलो हाफको इन्ज्युरी समयमा लियोनार्डो बोनुचीको हेडरले पोस्टको दिशा लिन नसक्दा युभेन्टस अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफको सुरुवातमा नै एसी मिलानका हाकन चाल्हानोग्लुको हेडरले पोस्टको दिशा लिन सकेन । ८०औं मिनेटमा पाउलो डिबालाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक डोनारुम्माले उत्कृष्ट ढंगले बचाए । लगत्तै कर्नरमा युभेन्टसले फाइदा उठाउन सकेन । इन्ज्युरी समयको चौथो मिनेटमा एलेक्स सान्ड्रोको प्रहार एसी मिलानका गोलरक्षक जियानलुजी डोनारुम्माले बचाए पनि मिलानको यात्रा सेमिफाइनलमा सीमित भयो । युभेन्टसले मिलान ७४ मिनेट १० खेलाडीमा सीमित भएको स्थितिको फाइदा पनि लिन सकेन ।
Facebook Comment