१ जना कोरोनाभाइरस संक्रमित बिरामीको उपचार खर्च १३ करोड !

डिसी नेपाल
१ असार २०७७ ८:२२

वाशिङटन। अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलर (१३ करोड नेपाली रुपैयाँ) को बिलमा सही गर्नु परेको छ । सिएटल टाइम्सको समाचार अनुसार गच मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो । एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए ।

तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । अखबारका अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो, र यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर (करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ) को थियो ।

बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो ।

तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ । मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् ।

सिएटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् । उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *