कालापानीको छेउमै आए राजनाथ सिंह, नेपालनजिक आएसँगै बोली फेरियो

डिसी नेपाल
१ असार २०७७ १२:३८

काठमाडौं। भारतका रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच कुनै असमझदारी भए वार्ताको माध्यमबाट सुल्झाउने बताएका छन् । आज देहरादुनमा भारतीय जनता पार्टीले आयोजना गरेको भर्चुअल र्यालीलाई सम्बोधन गर्दै सिंहले नेपाल–भारतको सम्बन्ध सामान्य नभएको टिप्पणी गरेको समाचार एजेन्सी पीटीआइले जनाएको छ । यो र्याली देहरादुनसँगै गढवाल केन्द्रित छ । गढवाल भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नजिकै पर्छ ।

उनले नेपाल र भारत रोटी बेटीको सम्बन्धले बाँधिएको उल्लेख गर्दै यो बन्धनलाई संसारको कुनै पनि शक्तिले तोड्न नसक्ने दावी गरे । उनले भारतको बोर्डर रोड अर्गनाइजेशनले लिपुलेकमा निर्माण गरेको सडक भारतीय क्षेत्रमै भएको दावी पनि गरे । आजको कार्यक्रम नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको राजधानी देहरादूनमा भएकोले पनि उनको यो भनाइलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

आज राजनाथ सिंहले जुन भूमिमा उभिएर नेपालबारे बोले, सुगौली सन्धिअघि त्यो भूमि पनि नेपाल थियो । बेलायती कम्पनी इस्ट इण्डियासँग सुगौली सन्धिपछि यो भूमि नेपालले गुमाएको थियो । भारतले सुगौली सन्धिअनुसार नेपालको हुनुपर्ने भूमि अतिक्रमण गरेकै कारण अहिलेको विवाद सृजना भएको हो । यस्तो समयमा भारतीय सेनासँग सम्बन्धित अधिकारी र नेताहरु यो भूमिमा आएर बोल्न थालेका छन् ।

यसअघि शनिबार मात्र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले पनि देहरादुनमै आएर नेपालबारे बोलेका थिए । नरवणेले पनि पहिले नेपाल चीनको उक्साहटमा लागेर भारतविरुद्ध उभिएको आरोप लगाएकामा शनिबार कुरा फेर्दै नेपालसँग बलियो सम्बन्ध भएको भनेका थिए । अहिले रक्षामन्त्रीले पनि त्यही ठाउँमा त्यही आशयमा बोल्नुलाई भारतले नेपाललाई फकाउन प्रयास गरेको रुपमा बुझिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *