‘खल्ती’ बन्यो छोटो समयमै १० लाख पटक डाउनलोड हुने पहिलो नेपाली मोवाइल वालेट
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये ‘मिलियन क्लब’मा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन वर्षमै हासिल गरेको हो ।
प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ । आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै एक लाख पटक एप्पल डिभाइसमा डाउनलोड भएको छ । मोबाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको सङ्ख्या १३ लाख नाघेको छ ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत वर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । विशुद्ध नेपाली नामलाई ब्राण्ड बनाएर डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको ‘खल्ती’ शहरदेखि ग्रामीण भेगसम्म लोकप्रिय बन्न पुगेको छ ।
मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, चलचित्रको टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’ को प्रयोग गरिरहेका छन् । खल्तीका निर्देशक अमित अग्रवालले छोटो समयमै ‘खल्ती’ले यत्रो लोकप्रियता हासिल गरेकामा उत्साहित भएको बताए। ‘खल्ती’ले बैंकिङ पहुँचमा नरहेको जनसङ्ख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले जनाएको छ ।
Facebook Comment