कुन देशसँग कति छ परमाणु हतियार ? पाकिस्तान भारतभन्दा बलियो, रुस सबैभन्दा बलियो

डिसी नेपाल
२ असार २०७७ १२:२१

काठमाडौं। भारतको सम्बन्ध छिमेकी देशहरुसँग बिग्रिइरहेको छ । छिमेकी देश पाकिस्तानसँग त भारतको सम्बन्ध सधैं खराब रहेको छ । तर, पछिल्लो समय भारत पाकिस्तान सम्बन्ध झनै खराब भएको छ । यही बेला भारतको सम्बन्ध अर्को शक्तिशाली छिमेकी चीनसँग मात्र नभइ नेपालसँग पनि बिग्रिएको छ । शक्तिशाली छिमेकीहरुसँग भारतको सम्बन्ध बिग्रिइरहेका बेला एक रिपोर्टमा भारत परमाणु शक्तिमा पाकिस्तानभन्दा पनि कमजोर रहेको खुलासा भएको छ ।

रिपोर्टका अनुसार पाकिस्तानसँग भारतसँग भन्दा धेरै परमाणु हतियार छन् । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) को रिपोर्टअनुसार पछिल्लो समय चीनसँग ३२० र पाकिस्तानसँग १६० परमाणु हतियार छन् । भारतसँग १५० परमाणु हतियार छन् । रिपोर्टमा ती देशहरुको परमाणु हतियारको बारेमा उल्लेख गरिएको छ जले आधिकारिक रुपमा आफूसँग परमाणु हतियार राखेका छन् ।

सिपरीको रिपोर्टअनुसार विश्वभरी भएका कूल परमाणु हतियारको ९० प्रतिशत रुस र अमेरिकासँग मात्र छ । यी दुवै देशहरुले पुराना हतियारहरुलाई नष्ट गरिरहेका छन् । यही कारण गत वर्ष परमाणु हतियारको संख्यामा कमी देखिएको थियो । यद्यपि चिन्ताको कुरा यो हो कि यी देशहरुले पुराना हतियार नष्ट गरेर नयाँ हतियार बनाइरहेका छन् ।

रिपोर्टका अनुसार २०१० देखि २०१९ सम्म आइपुग्दा हतियारहरुको कारोबार ५.५ प्रतिशतले बढेको छ । २०१८ मा सैन्य सुविधाको लागि करिब १९१७ बिलियन डलर खर्च भएको थियो । यो पछिल्लो १० वर्षमा सबैभन्दा धेरै खर्च हो । उत्तर अफ्रिकी देशहरुले यो वर्ष हतियारमा सबैभन्दा धेरै मात्रामा खर्च वृद्धि गरे । उनीहरुले हतियारमा गर्ने खर्चलाई २०१८ मा ६७ प्रतिशत वृद्धि गरेका छन् ।

चीनले पनि परमाणु शक्ति बढाइरहेको छ । चीनले जमिन, हावा र समुद्रमा प्रहार गर्न सक्ने नयाँ मिसाइलहरु तयार गरिरहेको छ । यतिमात्र होइन उसे यस्ता फाइटर जेटहरु पनि तयार गरिरहेको छ जसले परमाणु आक्रमण गर्न सकुन् । चीनले पहिले परमाणु शक्तिबारे धेरै जानकारी दिँदैनथ्यो । तर, केही वर्षदेखि उसले परमाणु हतियार र भविष्यका योजनाहरुबारे विश्वलाई केही जानकारी दिएको छ ।

सिपरीको रिपोर्टअनुसार ९ देशहरुसँग यस्ता परमाणु हतियार छन् । यी सबै देशहरुसँग गरी कूल १३ हजार ४ सय परमाणु हतियार छन् । यीमध्ये ६ हजार ३७५ हतियार रुससँग मात्र छन् । रुस परमाणु शक्तिको हिसाबले पहिलो स्थानमा छ । सबैभन्दा पछिल्लो स्थानमा रहेको उत्तर कोरियासँग ३० देखि ४० परमाणु हतियार छन् ।

सिपरीका अनुसार पहिलो स्थानको रुससँग ६ हजार ३७५ परमाणु हतियार छन् । दोस्रो स्थानको अमेरिकासँग ५ हजार ८ सय, तेस्रो स्थानको चीनसँग ३२०, चौथो स्थानको फ्रान्ससँग २९० परमाणु हतियार छन् । यस्तै पाँचौं स्थानको बेलायतसँग २१५, छैटौं स्थानको पाकिस्तानसँग १६०, सातौं स्थानको भारतसँग १५०, आठौं स्थानको इजरायलसँग ९० र नवौं स्थानको उत्तर कोरियासँग ३० देखि ४० परमाणु हतियार छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *