उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्पर्क कार्यालय ध्वत पारिदियो
काठमाडौं। उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो संयुक्त कार्यालय ध्वस्त पारिदिएको छ । दुई देशको सीमानजिकै काइसोंग शहरमा रहेको सम्पर्क कार्यालय ध्वस्त पारिएको दक्षिण कोरियाली अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । उत्तर कोरियाले दक्षिण कोरियालाई सैन्य कारवाहीको धम्की दिएको केही घण्टामै यस्तो घटना भएको हो ।
सम्पर्क कार्यालय उत्तर कोरियाको क्षेत्रभित्र थियो । २०१८ मा स्थापित यो कार्यालय दुई कोरियाबीच कुराकानीको लागि प्रयोग हुन्थ्यो । कोभिड–१९ का कारण प्रतिबन्ध लगाइएपछि यो कार्यालय जनवरीदेखि खाली थियो ।
विगत केही हप्तादेखि उत्तर र दक्षिण कोरियाबीच तनाव बढिरहेको छ । पछिल्लो समय उत्तर कोरियाली शासक किम जोंग उनकी बहिनी किम यो जोंगले लगातार दक्षिण कोरियालाई धम्की दिइरहेकी थिइन् ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले स्थानीय समयअनुसार २ बजेर ४९ मिनेटमा सम्पर्क कार्यालयमा विष्फोट भएको जनाएको छ । पछिल्ला केही हप्ता उत्तर कोरियाले दक्षिण कोरियामाथि आफूविरुद्ध प्रोपोगाण्डा फैलाउन सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ ।
Facebook Comment