सीमामा चीनसँगको भिडन्तमा ३ जना भारतीय सैनिक मारिए

डिसी नेपाल
२ असार २०७७ १४:१४

काठमाडौं। चीनसँगको सीमा क्षेत्रमा भएको हिंस्रक भिडन्तमा भारतका तीन जना सैनिक मारिएका छन् । दुई देशबीचको विवादित हिमालयन सीमा क्षेत्रमा दुई देशका सेनाबीच झडप हुँदा भारतीय सैनिक मारिएको भारतीय सेनाको एक वक्तव्यलाई उद्धृत गर्दै द गार्डियनले लेखेको छ

यहाँ विगत ४५ वर्षमा कुनै पनि पक्षका सैनिक मारिएको पहिलो घटना हो । पछिल्लो समय दुई देशबीच सीमाका विषयमा विवाद बढिरहेका बेला सैनिकको ज्यानै जाने गरी हिंसात्मक घटना भएको हो । सामान्यतया यो क्षेत्रमा हिंसात्मक झडप हुन नदिन दुवै देशका सैनिकले हतियार बोक्दैनन् तर पछिल्लो समय यहाँ सैनिकहरु झगडा गर्ने, उक अर्कालाई नजरबन्दमा राख्ने र सैन्य उपकरण तैनाथ गर्ने गरेका छन् ।

झडपमा मारिनेमध्ये १ जना कर्णेल भएको दैनिक भास्करले लेखेको छ । ती कर्णेल इन्फेन्ट्री बटालियनका कमाण्डिङ अफिसर थिए । भारत–चीन सीमामा १९७५ पछि पहिलो पटक यत्तिको हिंसात्मक घटना भएको हो । यस पटक गोली भने चलेको होइन । जवानहरुबीच ढुंगा हानाहान भएपछि यी सैनिक मारिएका हुन् । दैनिक भास्करले भारतीय कारवाहीमा चीनका पनि तीन जवान मारिएको लेखेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको विदेश मन्त्रालयले भारतलाई एकतफी कारवाही नगर्न, अन्यथा मुस्किल बढ्ने चेतावनी दिएको छ । चीनको अखबार ग्लोबल टाइम्सले चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै लेखेअनुसार सीमामा दुई देशका सेनाबीच समझदारी बनेको थियो तर भारतीय सेनाले समझदारी तोडेर चीनको क्षेत्रभित्र प्रवेश गरेका थिए । भारतीय जवानले चिनियाँ जवानमाथि आक्रमण गरेपछि झडप भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *