राष्ट्रियसभा सदस्य विडारीले मागे मन्त्रीको सामुहिक राजीनामा

डिसी नेपाल
२ असार २०७७ १४:३४

काठमाडौं। राष्ट्रियसभा सदस्य रामनारायण विडारीले मन्त्रीहरुको सामुहिक राजीनामा माग गरेका छन्। मंगलबार राष्ट्रिय सभामा मन्त्रालयगत विनियोजनबारे गरिएको छलफलमा उनले काम गर्न नसक्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले बजेट खर्च गर्नका लागि मन्त्रीहरुलाई के ले रोक्यो भनेर समेत प्रश्न गरे। समयमा नै काम सुरु गर्न सहज हुन्छ भनेर जेठ १५ गते नै बजेट ल्याएर आर्थिक वर्ष सुरु हुनुअघि नै सम्पूर्ण प्रकृया सकेर काम गर्न थाल्नुपर्नेमा अझै पनि विनियोजित रकम खर्च गर्न नसक्केको भन्दै उनले मन्त्रीहरुको राजीनामा माग गरेका हुन्।

विनियोजित खर्च पनि गर्न नसक्ने? अरुथोक केही गर्नुपरेन, बजेट छुटयाएको छ। संसदले पास गरेको छ। अख्तियारी समयमा नै दिन नसक्ने र काम गर्न नसक्ने भए किन तलव खाएर बसेको ? मन्त्रीले यो कुरा विचार गर्नुपर्दैन?

उनले अझै थप्दै भने, अर्थमन्त्रीले हामीले दिएको सुझाव लागु गर्नुहून्न ‘यत्रो छलफल गर्यो, यत्रा दिनको तलब भत्ता सांसदहरुले ग्वाम ग्वाम खायौँ। अनि बजेट चाँहि सरकारले जे ल्यायो त्यही नै हुने एक रुपैयाँ तलमाथि हुँदैन यस्तो पनि कहिँ हुन्छ? यो छलफल नाटक किन गरेको?’ उनले प्रश्न गरे।

त्यस्तै उनले विपक्षी दललाई समेत छोडेनन्। उनले विपक्षीदललाई भने ‘विपक्षी दल पनि उस्तै छ, पैसा यहाँ नी बढाउन, उता नी पुगेन त्याँ नी पुगेन भन्छ। अनि बजेट चाँहि १ सय रुपैयाँ मात्रै राखियोस यो मन्त्रालयमा भन्छ। १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे उ नी बनाइदे बजेट पुगेन भन्छ। अनि देश कसरी विकास हुन्छ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *