के म यो वर्ष विश्वविद्यालय जानु उचित होला ?

डिसी नेपाल
२ असार २०७७ १७:४३

बीबीसी । विद्यार्थीहरूले यो साता नै नयाँ शैक्षिक सत्रका निम्ति यूकेका विश्वविद्यालयहरूका प्रस्ताव स्वीकार गर्ने या नगर्नेबारे निर्णय लिनुपर्नेछ। यस्तो निर्णय एकदमै महत्त्वपूर्ण हुने गर्छ।

त्यसमाथि यो वर्ष त झन् महत्त्वपूर्ण छ किनकि कक्षाकोठामा हुने कैयन् लेक्चर वा पठनपाठन यसपालि अनलाइन हुनेछन् अनि सहपाठीहरूसँगको भेटघाट कठिन हुनेछ।

अहिले विश्वविद्यालयहरू सेप्टेम्बरदेखि कसरी सञ्चालन गर्ने भन्नेबारे सोचविचार गरिरहेका छन्। कतिपयले त सामान्य शैलीलाई परिवर्तन गर्ने निर्णय गरिसके।

तिनका योजना यस्ता छन्ः

  • केम्ब्रिज विश्वविद्यालयले पूरै वर्ष आफ्ना पठनपाठन अनलाइन गर्नेछ
  • म्यान्चेस्टर, रेडिङ तथा क्वीन्स बेल्फास्टले शरद यामका पठनपाठन अनलाइन गर्नेछन्
  • किलले सरकारको कोरोनाभाइरस उपायजस्तै आफ्नो नीति बनाउन पाँच चरणको सावधानी प्रणाली अपनाउनेछ
  • एबरडीनले उसको नयाँ सत्र दुई साता ढिलो सुरु गर्दैछ
  • डरमले सम्पूर्ण पठनपाठन अनलाइन गर्ने निर्णय उल्ट्याएको छ

प्रत्येक विश्वविद्यालयले भिन्न निर्णय गरेकाले आफू जान चाहेको विश्वविद्यालयबारे स्पष्ट हुन तिनीहरूसँग सम्पर्क गर्न वा तिनको वेबसाइट जाँच गर्न जरुरी छ। विश्वविद्यालयहरूका प्रस्ताव स्वीकार या अस्वीकार गर्ने समयसीमा जुन १८ सम्म पुर्‍याइएको छ।

यदि कुनै प्रस्ताव उचित नलागेमा अनलाइनमार्फत् नै अस्वीकार गर्न सकिन्छ। जाँदै नजाने निर्णय गरेको हो भने ती विश्वविद्यालयलाई फोनमार्फत् आफ्नो निवेदन फिर्ता गर्न भन्नुपर्छ। यसले अतिरिक्त खर्च हुँदैन।

सरकारले भनेको छ इङ्ग्ल्यान्डमा शरदयाममा सबै पठनपाठन अनलाइन भएपनि विश्वविद्यालयका विद्यार्थीहरूले पूर्ण शैक्षिक शुल्क तिर्नुपर्नेछ। कतिपय विद्यार्थी यसमा खुसी छैनन्। एक जनाले त यसको विरुद्ध हस्ताक्षर अभियान पनि चलाएका छन्।

यूके विश्वविद्यालयले लिन सक्ने वार्षिक अधिकतम शुल्क ९,२५० पाउन्ड हो। यसलाई विद्यार्थी कर्जाबाट बेहोर्न सकिन्छ तर अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भने बढी तिर्नुपर्छ।

स्कटल्यान्ड तथा युरोपेली युनियनका विद्यार्थीहरूले स्कटल्यान्डका विश्वविद्यालयमा पढ्न ट्यूशन शुल्क लाग्दैन। त्योबाहेक बस्ने खर्च पनि पर्छ जुन केही हजार पाउन्ड हुन आउँछ।

हालै गरिएको एउटा अध्ययनमा दुईतिहाइ विदेशी विद्यार्थी अझै पनि बाहिर पढ्न जाने योजनाबाट पछि हटेका छैनन्। त्यसमा यूके गएर पढ्छु भन्नेहरू पनि छन्। आईडीपी कनेक्ट भन्ने संस्थाले झन्डै ६,९०० विदेशी विद्यार्थीसँग गरेको सर्वेक्षणमा ६९५ ले विदेश गएर पढ्ने आफ्नो योजना परिवर्तन नगरेको बताए।

तर खासगरी पूर्वी एशियाका सम्भावित स्नातकोत्तर तहका विद्यार्थीले भने यो शरदयाममा अनलाइन कक्षामा सहभागी हुनुभन्दा अर्को ज्यानुअरीमा सामान्य पठनपाठनमा सामेल हुन चाहेको बताएको ब्रिटिश काउन्सिलले गरेको अध्ययनमा देखिएको छ।

सो अध्ययनमा यूके विश्वविद्यालयहरूमा सन् २०२०–२१ मा सन् २०१८–१९ को तुलनामा १४,००० कम विदेशी विद्यार्थी आउने देखिएको छ। यो भनेको शिक्षा तथा बसाइमा उनीहरूले गर्ने खर्च यसपालि ४६ करोड पाउन्डले घट्नेछ।

इङ्ग्ल्यान्डका विश्वविद्यालयहरूले दुई अर्ब पाउन्ड बराबरको उद्धार सहयोगको लागि गरेको अपीललाई सरकारले अस्वीकृत गरिसकेको छ। तर नगदप्रवाहको समस्या टार्न केही उपाय अघि सारिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *