भारत–चीन झडपबारे बोले अमेरिकी राष्ट्रपति ट्रम्प, संयुक्त राष्ट्रसंघको पनि धारणा आयो
काठमाडौं। भारत–चीन सीमामा दुई देशका सेनाबीच ठूलो संख्यामा सैनिकको ज्यान जानेगरी भएको हिंस्रक झडपप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक बयान सार्वजनिक भएको छ । मंगलबार राती ह्वाइट हाउसमा भएको बैठकपछि अमेरिकाले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
भारत–चीन सीमा क्षेत्र लद्दाखमा भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएको भारतीय मिडियाले जनाएका छन् । चीनतर्फ के कति क्षति भयो भन्ने आधिकारिक जानकारी आएको छैन । चिनियाँ सैनिकहरु पनि मारिएका रिपोर्टहरु आएका छन् तर यसको आधिकारिक पुष्टि भएको छैन । भारतीय मिडियाले चीनका ४३ सैनिक मारिएको वा घाइते भएको दावी गरेका छन् ।
ह्वाइट हाउसमा भएको बैठकपछि अमेरिकाले भनेको छ ‘दुई देशबीच जारी तनावमा हाम्रो सूक्ष्म नजर छ ।’ मिडिया रिपोर्टका अनुसार ह्वाइट हाउसमा भएको बैठकमा इन्टेलिजेन्सका अधिकारीहरुले भारत– चीन विवादबारे रिपोर्ट पेश गरेका थिए । विदेश मन्त्री माइक पोम्पियो पनि बैठकमा सहभागी थिए । बैठकपछि एक बयान जारी गरिएको छ । बयानमा अमेरिकाले भनेको छ ‘एलएसीको स्थितिमा हाम्रो सूक्षम नजर छ । भारतीय सेनाका २० जवान मारिएका छन् । अमेरिका यसप्रति शोक व्यक्त गर्दछ । हाम्रो समवेदना सैनिकका परिवारको साथमा छ ।’
बयानमा अगाडि भनिएको छ ‘भारत र चीन दुवैले तनाव कम गर्ने बताएका छन् । अमेरिका यो विवादको शान्तिपूर्ण समाधानको पक्षमा छ । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच २ जूनमा फोनमा कुराकानी भएको थियो । यस क्रममा भारत चीन सीमा विवादबारे पनि कुरा भएको थियो ।’ संयुक्त राष्ट्रसंघले पनि यस विषयमा आफ्नो धारणा राखेको छ । युएन महासचिवका प्रवक्ताले भनेका छन् ‘हामीले एलएसीमा भइरहेका घटनाबारे जानकारी प्राप्त गरेका छौं । दुवै देशहरुलाई संयम देखाउन अपिल गर्दछौं । दुवै देशले तनाव घटाउने बताउनु राम्रो कुरा हो ।’
Facebook Comment