राष्ट्रिय फुटबल टिमको प्रशिक्षण जुलाईबाट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आगामी महिना जुलाईबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मंगलबार एन्फाको कार्य समितिको बैठकले विश्व कप फुटबल प्रतियोगिता २०२२ को दोस्रो चरणको खेलहरुमा सहभागी हुन आगामी जुलाईबाट नै प्रशिक्षण सुरु गर्ने जनाएको हो । उक्त प्रशिक्षण संचालन गर्न एशियाली फुटबल माहासंघ (एएफसी) को निर्देशन अनुरुप सम्बन्धित निकायहरु राष्ट्रिय खेलकुद परिषद, सम्बन्धित स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयबाट समेत स्विकृत लिएर मात्रै प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ ।
कोरोना भाईरसको महामारीको कारण गत मार्चबाट टिमको प्रशिक्षण रोकिएको थियो । तर, विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको बाँकी खेल अक्टोबरबाट सुचारु हुने भएपछि नेपालले जुलाईबाट प्रशिक्षण थाल्ने भएको हो । एसियन फुटबल फेडेरसन (एएफसी) ले विश्वकप छनोट र एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।
छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।
Facebook Comment