खेलाडीको सुरक्षामा विशेष ध्यान दिएका छौँ : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको सुरक्षामा विशेष ध्यान दिएको बताए ।
राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले खेलाडीको सुरक्षाका लागि दुर्घटना बीमा, स्वास्थ्य बीमालगायत काम गर्न लागेको जानकारी दिए।
मन्त्री विश्वकर्माले खेलाडीको सम्मानका लागि कुनै कसर बाँकी नराखेको र खेलाडीलाई सहयोग गर्न सरकार सधैँ तत्पर रहेको उल्लेख गरे। गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ सागमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले सागमा पदक जित्ने खेलाडीलाई उचित सम्मान गरिएको बताए ।
मन्त्री विश्वकर्माले पदक जितेका खेलाडीलाई रकम उपलब्ध गराएको भन्दै पेश्की फछ्र्योट गर्न ढिला भएका कारण केही प्रशिक्षकलाई रकम उपलब्ध गराउन ढिला भएको बताए। आगामी आर्थिक वर्षदेखि सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको उनले स्पष्ट पारे । सागमा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक ६ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ ।
Facebook Comment