पाकिस्तानमा खेल मिलेमतोलाई अपराध मानिने प्रस्ताव प्रधानमन्त्री द्धारा अनुमोदन

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री एवम पाकिस्तान क्रिकेट बोर्डका मुख्य संरक्षक ईमरान खानले पाकिस्तान क्रिकेट बोर्डले एन्टी करप्शन कोडमा गरेको संशोधन र खेल मिलेमतोलाई अपराध मानिने प्रस्तावलाई अनुमोदन गरेका छन ।
पाकिस्तानी क्रिकेट बोर्ड स्रोतका अनुसार पीसीबीका अध्यक्ष एहसान मनीले इमरानसँग यस हप्ताको सुरूमा गरेको भेटको क्रममा उक्त कुरा स्पष्ट भएको जनाईएको छ । इमरानले पाकिस्तान क्रिकेट टोलीलाई कोरोना भाइरस महामारीको बीच इङल्यान्ड भ्रमण गर्न पनि अनुमति दिएका छन ।
स्रोतका अनुसार इमरानले नयाँ कानुनको मस्यौदालाई समर्थन गर्दै यसलाई कानुन र सम्बन्धित मन्त्रालयबाट यसलाई अनुमोदन गराउन आग्रह गरेका छन । सबै प्रक्रिया पुरा भएपछि यसलाई संसदमा राख्न सकिने स्रोतले जनाएको छ ।
नयाँ कोड अन्तर्गत बोर्डले म्याच फिक्सिङ र स्पोर्ट फिक्सिङ भएको पाईएमा यसलाई अपराध ठहर गर्दे जेल सहित कडा सजायको प्रावधान पनि हुने ब्यबस्था गरेको छ। अहिलेसम्म पीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको भ्रष्टाचार रोकथाम आचार संहिता पालना गरिरहेको छ ।
Facebook Comment