आफ्नै पूर्व सुरक्षा सल्लाहकारको पुस्तकबाट अमेरिकी राष्ट्रपति त्रसित

डिसी नेपाल
४ असार २०७७ ८:४१

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भूतपूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनले प्रकाशनका लागि ठिक्क पारेको उनको संस्मरणले अमेरिकाको राजनीतिलाई तरंगित बनाएको छ । आउने नोभेम्बरमा राष्ट्रपतिका लागि चुनाव हुने र त्यसअघि यो पुस्तकले ट्रम्पका धेरै गोप्य अराजनीतिक गतिविधिहरु र मुलुकको अहित गरेका विषयहरु सार्वजानिक गर्ने हुँदा अमेरिकाको राजनीति तरंगित भएको हो ।

समाचारअनुसार, राष्ट्रपति ट्रम्प आफ्नै पूर्व सल्लाहकार बोल्टनको सो पुस्तक प्रकाशनमै प्रतिबन्ध लगाउन अदालतसम्म पुग्ने भएका छन् । राष्ट्रपतिका कतिपय निर्णय राष्ट्रिय सुरक्षाको संवेदनशीलताका हिसाबले सार्वजानिक गर्न नहुने, सार्वजानिक भए तिनले मुलुकको सुरक्षामा असर पार्ने भएको तर्कका आधारमा राष्ट्रपति ट्रम्प सो पुस्तक प्रकाशन नै रोक्ने पक्षमा छन् ।

पुस्तकमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग आफूलाई दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित गराइदिन सहयोग मागेको खुलासा गरिएको छ । जबकि केही हप्ताअघि मात्र राष्ट्रपति ट्रम्पले चीनले आफूलाई जसरी पनि हराउन चाहेको अभिव्यक्ति दिएका थिए । किताबमा ट्रम्पले गरेको आग्रहको खुलासा भएसँगै केही हप्ताअघिको उनको अभिव्यक्ति देशमा चीनविरोधी हल्ला फैलाएर जसरी हुन्छ चुनाव जित्ने रणनीतिमा मात्र केन्द्रित भएको हुन सक्ने देखिएपछि ट्रम्प यो पुस्तक प्रकाशन जसरी पनि रोक्ने प्रयासमा छन् ।

किताबमा ट्रम्पले गत वर्ष एक सम्मेलनपछि डिनरको क्रममा जिनपिङलाई यस्तो आग्रह गरेको खुलासा गरिएको छ । २०१९ मा भएको ग्रुप अफ २० को सम्मेलनमा जिनपिङले ट्रम्पसँग अमेरिकामा रहेका चीनका आलोचकबारे गुनासो गरेका थिए । किताबमा बोल्टनले लेखेका छन् ‘ट्रम्पले तत्कालै बुझे कि सीले भन्ने खोजेको डेमोक्र्याटहरुलाई हो । ट्रम्पले तत्कालै डेमोक्र्याटहरुमा ठूलो असमझदारी भएको बताए । ’

बोल्टन अगाडि लेख्छन् ‘उनले तत्कालै कुराकानीलाई २०२० मा हुन लागेको अमेरिकी राष्ट्रपतिको निर्वाचनतर्फ मोडे । उनले चीनको आर्थिक क्षमताले निर्वाचन अभियान प्रभावित पार्न र निर्वाचनमा आफूले जित्ने सुनिश्चित गर्न सीसँग बिन्ती गरे । उनले किसानहरुको महत्वमा जोड दिए र चुनावी नतिजामा फाइदा हुने गरी सोयाबिन र गहुँको चिनियाँ खरिद बढाए ।’ त्यही बैठकमा सीले शिनजियाङ प्रान्तमा १० लाख भन्दा धेरै उइगर मुस्लिमहरुलाई राख्न आवास निर्माण गरिएको कुराको प्रतिरक्षा गरे र ट्रम्पले आफ्नो यसमा समर्थन रहेको संकेत गरेको बोल्टनले लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *