कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ सय नाघ्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार १०० नाघेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार दुई सुर्खेत र दुई दैलेखमा गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक हजार १०४ पुगेको उनले बताए ।
महाशाखा प्रमुख डा तिवारीका अनुसार कूल सङ्क्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन्।
त्यस्तै, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । सङ्क्रमितमा पुरुष एक हजार २२ जना र महिला ८२ जना रहेका छन्।
कर्णाली प्रदेशका कूल सङ्क्रमित व्यक्तिमा कोरोना सङ्क्रमण जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४९४ पुगेको छ । बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १५२ जनाले कोरोना जितेका छन् ।
महावु आइसोलेसन केन्द्रबाट १०६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना सङ्क्रमित कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका एकरएक गरी तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।
कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म एक हजार ७९० नागरिक भारतबाट आइपुगेका छन्।
यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ। रासस
Facebook Comment