चीनले भारतलाई भन्यो – ‘आफ्नो सेना अनुशासनमा राख, झडपका जिम्मेवारलाई कारवाही गर’
काठमाडौं। चीनले भारतसँग सीमा क्षेत्रमा दुई देशका सेनाबीच भएको झडपका विषयमा अनुसन्धान गर्न र यसका जिम्मेवार सैनिकहरुलाई कारवाही गर्न माग गरेको छ । साथमा चीनले भारतलाई आफ्नो सेनाका फ्रन्टलाइन सैनिकहरुलाई कडा अनुशासनमा राख्न र सीमामा यसप्रकारका गतिविधि फेरि नहोस् भन्ने सुनिश्चित गर्न पनि भनेको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले टेलीफोनमार्फत भारतीय विदेश मन्त्रीलाई बुधबार यस्तो भनेको चिनियाँ अखबार ग्लोबल टाइम्सले लेखेको छ ।
गलवान उपत्यकामा दुई देशका सेनाबीच ठूलो संख्यामा ज्यानै जानेगरी हिंस्रक भिडन्त भएपछि चीनका विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई फोन गरेका हुन् । सोमबार रातीदेखि गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंस्रक झडप भएपछि पनि भारतीय सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेर चीनको सीमाभित्र प्रवेश गरेको र चिनियाँ सेनामाथि फेरि पनि घातक आक्रमण गरेको ग्लोबल टाइम्सले लेखेको छ । भारतीय पक्षसँगवार्ताका लागि गएका चिनियाँ सेनाका अधिकारीहरुमाथि आक्रमण भएको समाचारमा जनाइएको छ ।
‘भारतीय सेनाको यो खतरनाक कदमले पटक पटक दुई देशबीच भएको समझदारी र परराष्ट्र सम्बन्ध सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको आधारभूत मान्यताको उल्लंघन गरेको छ’ वाङले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भनेको अखबारले चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ । भारतीय विदेश मन्त्रीले भारतले पनि सीमा क्षेत्रमा जारी तनाव हटाउन चाहेको बताएका थिए ।
Facebook Comment