कोरोना रोकथाम गर्न रु एक करोड खर्च
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न शीर्षकमा रु एक करोड ४६ लाख चार हजार ५४९ खर्च गरेको छ । नगरपालिकाले आज मुर्गियामा आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख चित्रबहादुर कार्कीले राहत सामग्री खरीदमा सबैभन्दा बढी रु ५१ लख ८० हजार ३८९ खर्च भएको जानकारी दिए।
उनका अनुसार नगरस्तरीय क्वारेन्टिनमा खाना, खाजा, औषधिलगायत शीर्षकमा रु ३८ लाख खर्च भएको छ । क्वारेन्टिनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक रु २१ लाख ९७ हजार ८०० र सामुदायिक क्वारेन्टिन निर्माणमा रु ३४ लाख १६ हजार ९२२ खर्च भएको छ । नगरपालिकामा आवासीय मजदूरमार्फत विकासनिर्माणका ६५ प्रतिशत काम भइरहेको पनि उनले बताए । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले किट अभाव हुँदासमेत नगरपालिकाको स्रोत परिचालन गरेर कोभिड– १९ विरुद्धको काम प्रभावकारी ढङ्ले गरिएको जिकिर गरे।
सैनामैनामा अहिलेसम्म कोरोना सङ्क्रमित ३४ पुगेका छन् । उनीहरुमध्ये २४ जना सैनामैना – १ स्थित वनकट्टामा रहेको आइसोलेशन सेन्टरमा, चार जना एन्फा एकेडेमी बुटवल, एक कोभिड आइसोलेशन अस्थायी अस्पताल बुटवल, एक होम आइसोलेसन, तीन भीम अस्पताल भैरहवा र एक त्रिवि शिक्षण अस्पताल काठमाडौँमा थिए । काठमाडौँक निको भइ घर फर्किएका छन् । नगरपालिकाले शुक्रबार नीति, कार्यक्रम र बजेट ल्याउँदै छ ।
कञ्चन गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न शीर्षकमा रु ४६ खर्च भएको जनाएको छ । त्यहाँ रहेका पाँच क्वारेन्टिनमा खाना, खाजा, औषधि खर्च, एम्बुलेन्स भाडालगायत शीर्षकमा सो रकम खर्च भएको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए।
उनले कोरोना सङ्क्रमणका बिरामी लैजान र ल्याउनका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिँदै अब आउन लागेको नीति, कार्यक्रम र बजेटमा समेत कृषि, पशुबाहेक कोरोना भाइरस रोकथामलाई जोड दिइएको उल्लेख गरे।
गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जीवी घिमिरेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु ७५ लाख खर्च भएको जानकारी दिए। उनले क्वारेन्टिनको खाना, खाजा, शय्या, औषधि, एम्बुलेन्स, राहत वितरणलगायत शीर्षकमा सो रकम खर्च भएको बताए । सो गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ छ । उनीहरु सबै भारतबाट आएका हुन् ।
शुद्धोधन गाउँपालिकामा कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि रु २० लाख खर्च भएको छ । सो रकममध्ये रु १० लाख राहत वितरणमा खर्च भएको गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिए। उनले विकासनिर्माणमा खर्च हुने बजेटसमेत कटौती गरेर कोभिडविरुद्ध खर्च गरिएको तथा जन्मदिन र विवाहमा हुने खर्च क्वारेन्टिनमा लगाइएको जानकारी दिए।
Facebook Comment