सरकारले गरेको खर्च पारदर्शी छ, मबाहेक सबै भ्रष्ट भन्ने प्रवृत्ति त्यागौं : प्रधानमन्त्री ओली

डिसी नेपाल
४ असार २०७७ १८:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले कोरोना रोकथाममा खर्च भएको रकमको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणका क्रममा प्रष्टसँग आउने बताए।

स्थानीय तहले निकै कष्टकर ढङ्गबाट सङ्क्रमितको व्यवस्थापन गरिरहेको अहिलेको अवस्थामा परिस्थितिजन्य घटनालाई बेवास्ता गर्दै केहीलाई दैनिक हिसाबकिताब चाहिएको उनको टिप्पणी थियो । “कोरोनामा खर्च भएको रकम मात्र होइन, आगामी आवको रु १४ खर्बको बजेटको खर्च पनि पारदर्शी हुन्छ”, उनले भने, “म बाहेक अरू सबै भ्रष्ट छन् र यो देशमा भ्रष्टबाहेक कोही जन्मदैनन् र छैनन् भन्ने तथा सरकारमा रहेका व्यक्तिको चरित्र हत्या गर्ने मान्यता राख्नुभएन ।”

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता दोहो¥याउँदै यदि कहीँकतै अनियमितता भएको भए सम्बन्धित निकायले जाँचबुझ गर्ने बताए। आपतकालमा छोटो प्रक्रियाबाट सामग्री खरिद गरिने जानकारी दिँदै उनले कोरोनाले आक्रान्त पारेको बेला कसैले भ्रष्टाचार गरेको भए कारबाही हुने बताए। उनले भने, “त्यस्तालाई कारबाही गरिन्छ, हुन्छ ।”

प्रधानमन्त्री ओलीले कोभिड–१९ ले आम जनतालाई त्रसित बनाएको उल्लेख गर्दै जनतालाई सङ्क्रमणबाट जोगाउन सरकारले लकडाउनको घोषणा गरेको जानकारी दिए। “यसले मानसिक सन्त्रास मात्र गरेको छैन, रोजगारी तथा आम्दानीमा पनि असर गरेको छ । जनता प्रत्यक्षरुपमा पीडामा छन् । यो पीडा सरकारले देखेको छ, बुझेको छ”, उनले भने, “मैले गाउँ, शहर देखेको छु । आर्थिक तथा शारीरिक हिसाबले अत्यन्त प्रतिकूल अवस्था झेलेर आएको छु । जनता, गाउँका गरिब तथा गिटी कुट्नेको समस्या पनि प्रधानमन्त्रीले बुझेको छ ।”

असहाय तथा गरिबका लागि सरकार छ भन्ने अनभूति गराउन आफूहरु क्रियाशील रहेको जानकारी दिँदै प्रधानमन्त्रीले पछिल्लो समयमा सरकारले कोही पनि भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने मान्यता स्थापित गरेको बताए। पहिलेको भन्दा जनस्तरबाटै परिवर्तनको अभाष हुने गरी काम गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीले जनताको हितका पक्षमा कुनै खेलवाड नगर्ने भन्दै विरोधका नाममा विरोध गरेर आफैँलाई कमजोर रुपमा प्रस्तुत नगर्न आग्रह गरे।

रुकुम पश्चिम घटनाका सम्बन्धमा सरकारलाई अनावश्वयक रुपमा नजोड्न आग्रह गर्दै उनले घटनाको अनुसन्धान भइरहेको र संलग्नलाई नियन्त्रणमा लिइएको जानकारी दिए । क्वारेन्टिनमा रहेकी महिला बलात्कृत हुनु अन्त्यन्त दुःखद् भएको उनको भनाइ थियो । “मानव जातिका निम्ति यो कलङ्कको घटना हो यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ”, उनले भने, “यो निन्दनीय घटना हो, यस अपराधिक घटनामा संलग्नलाई कारबाही हुन्छ ।”

उनले शान्ति, सुव्यवस्था र जनताको जीउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । बितेका दुई वर्षमा सरकारले असाधारण काम गरेको दोहो¥याउँदै उनले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न कटिबद्ध रहेको बताए। पछिल्ला समय राष्ट्रियताको सन्दर्भमा नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले नेपालमाथि अन्याय गर्न र नेपालीलाई विभाजन गर्न सम्भव नभएको पनि पुष्टि भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *