कोरोनाभाइरसः दक्षिण एसियाली मानिसहरुको अस्पतालमा मृत्यु हुने सम्भावना धेरै
काठमाडौं। बेलायतमा कोरोनाभाइरस संक्रमण भएर अस्पताल भर्ना हुनेहरुमध्ये दक्षिण एसियालीहरुको मृत्यु हुने सम्भावना अधिक भएको अध्ययनले देखाएका छन् । यो जातीय समूह अस्पतालमा मृत्यु हुने उच्च जोखिममा रहेको एकमात्र समूह हो र यसको कारण आंशिक रुपमा उच्च तहको मधुमेह भएको देखिएको छ । यो अध्ययनको लागि सबै अस्पताल भर्ना भएका बिरामीमध्ये ४० प्रतिशतको तथ्यांक लिइएकोले यो अध्ययन धेरै विश्वसनीय भएको बीबीसीले लेखेको छ ।
अनुसन्धानकर्ताहरुले अब काममा रहेका मानिसहरुको सुरक्षा गर्ने र पहिले कसलाई भ्याक्सिन दिने भन्ने विषयमा बनाइने नीतिहरु परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । बेलायतका विश्वविद्यालय र जनस्वास्थ्य सम्बन्धी निकायहरुसहित २७ संस्थानहरु र २६० अस्पतालहरु यो अध्ययनमा सहभागी थिए । अध्ययनमा प्राप्त नतिजालाई औपचारिक रुपमा मेडिकल जर्नलमा प्रकाशित गर्नुअघि अनलाइनमा सार्वजनिक गरिएको हो ।
यो रिपोर्ट बेलायत सरकारको साइन्टिफिक एडभाइजरी ग्रुपलाई भने एक महिनाअघि नै पठाइएको थियो । यद्यपि यो अध्ययनले कुनै बिरामी अस्पताल भर्ना भएपछि के हुन्छ भन्ने विषयमा मात्र जानकारी दिन्छ । स्वस्थ व्यक्ति कसरी संक्रमित हुने उच्च जोखिममा हुन्छन् भन्ने पक्षमा भने यो अध्ययन केन्द्रित थिएन । यो अध्ययनमा इङल्याण्ड, स्कटल्याण्ड र वेल्सका २६० अस्पतालमा भर्ना भएका ३५ हजार बिरामीको तथ्यांकको विश्लेषण गरिएको थियो ।
‘दक्षिण एसियालीहरु निश्चित रुपमा अस्पतालमा मृत्यु हुने उच्च जोखिममा छन् तर हामीले काला जातिका मानिसहरुमा भने दह्रो प्रभाव देखेनौं’ युनिभर्सिटी अफ एडिनबर्गका प्रोफेसर एवेन ह्यारिसले बीबीसीसँग भने । अध्ययनका अनुसार दक्षिण एसियाली पृष्ठभूमिका मानिसहरु गोराहरुको तुलनामा २० प्रतिशत बढी मृत्युको जोखिममा हुन्छन् । अन्य जातीय समूहमा ठूलो मृत्युदर छैन । विश्वमै यस किसिमका अध्ययनहरुमध्येको यो सबैभन्दा ठूलो अध्ययन हो ।
यो अध्ययनले जातीय समूहका आधारमा कसलाई अस्पतालमा भर्ना गर्नु बढी जरुरी हुन्छ भन्ने पनि देखाउँछ । ‘अस्पतालमा भर्ना भएका दक्षिण एसियाली मानिसहरु गोराहरुभन्दा पूरै फरक देखिन्छन्’ प्रोफेसर ह्यारिसनले भने ‘उनीहरु औसतमा १२ वर्ष कम उमेरका थिए । त्यो निकै ठूलो फरक हो । उनीहरुमा डिमेन्सिया, ओबेसिटी वा फोक्सोसम्बन्धी रोग थिएन तर मधुमेह भने निकै उच्च थियो ।’
दक्षिण एसियाली बिरामीहरुमध्ये ४० प्रतिशतलाई टाइप १ वा टाइप २ मधुमेह थियो जबकि गोराहरुको हकमा २५ प्रतिशतलाई मात्र समस्या थियो । मधुमेहले शरीरलाई हानी पुर्याउन संक्रमणको जोखिम उच्च बनाउने र अंगहरुलाई क्षति पुर्याउने गरी दोहोरो असर गर्छ । जसले कोरोनाभाइरस संक्रमणपछि बाँच्ने क्षमतालाई घटाउँछ । यसलाई बेलायतमा दक्षिण एसियाली मूलका बिरामीहरुको उच्च मृत्युदरको कारक मानिएको छ, यद्यपि यसको प्रस्ट छवि आउन बाँकी नै छ ।
Facebook Comment